काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन् ।
गृहमन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित नराखी मानव अधिकार र कानुनी राज्यको भावना अनुरूप परिष्कृत गरिने बताए । अबको गृह प्रशासनले कागजी आश्वासन र भाषण भन्दा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा दिने दाबी उनले गरे ।
जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षमा पुनःनिर्माण कार्य सम्पन्न गर्न अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा प्राविधिक टोलीले गरेको विस्तृत क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार दुवै जिल्लामा ४१ हजार २९७ घर पुनःनिर्माण, ११ हजार ९९६ घर रेट्रोफिटिङ र २१ हजार ९९४ घर सामान्य मर्मत गर्नुपर्ने देखिएको छ । हाल स्थानीय र जिल्ला विपत् व्यवस्थापन समितिमार्फत थप लाभग्राही कायम गर्ने प्रक्रिया जारी रहेको र सोपश्चात् राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निकासा हुने उनले स्पष्ट पारे ।
विगतदेखि सञ्चालित पुनःनिर्माणका कार्यहरू हालसम्म सम्पन्न नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्री गुरुङले कार्यसम्पादनमा ‘ब्रेक–थ्रु’ गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको बताए । आफू स्वयं विभिन्न जिल्लामा पुगेर अनुगमन गरिरहेको र प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरू अगाडि बढाइने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।






































