काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उठेका प्रश्नको जवाफ लिन कहिले ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
मङ्गलबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र विपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले विपक्षीले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा कहिले ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते सांसदहरूको प्रश्नोत्तरका बेलामा भारतको सिमाना नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विवाद भइरहेको छ । त्यसपछिका बैठकमा विपक्षीहरूले प्रधानमन्त्रीको त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र उनलाई संसद्को रोष्ट्रममा उभिएर माफी माग्नुपर्ने माग गर्दै आएका छन् ।
तर, प्रधानमन्त्री शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरूको त्यो भनाइलाई सुनेको छैन । बहुमतको बलमा विपक्षीहरूको विरोधकाबिच सभापति डोलप्रसाद अर्यालले सदन अगाडि बढाइरहेका छन् ।
मंगलबारको बैठकमा सत्ता पक्षलाई प्रधानमन्त्रीलाई जवाफ दिन कहिले ल्याउनुहुन्छ भन्ने प्रश्न आफूहरूले गरेको कांग्रेस प्रमुख सचेतक थापाले जानकारी दिइन् ।
‘हामीले सत्तापक्षलाई प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ भन्ने प्रश्न गर्यौँ । मैले र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रश्न गर्यौँ,’ थापाले भनिन्, ‘हाम्रो विरोधलाई नसुन्नु भएको हो ? सुनेर पनि नसुनेजस्तो गर्नु भएको हो भने जवाफ दिन ल्याउँदैनौँ भन्दा पनि हुन्छ भन्यौँ ।’
तर, त्यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै जवाफ बैठकमा दिएन । थापाले आफूहरूले रास्वपाको धारणा के हो भनेर साध्दा पनि कुनै जवाफ नआएको बताइन् ।
‘हामीले जे गर्ने हो, एउटा जवाफ त दिनुस् भन्दा पनि उहाँहरूले कहीँ जवाफ फर्काउनु भएन,’ थापाले भनिन्। विपक्षीले पहिला नै समय नदिएर जेठ १७ गतेजस्तै अकस्मात् आएर जवाफ दिँदा पनि आफूहरूलाई मान्य हुने बताएका थिए । त्यो विषयमा पनि सत्तापक्षले कुनै जवाफ दिएन।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विपक्षीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीको जवाफका विषयमा कुरा उठाएको स्वीकारे । ‘विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको जवाफका विषयमा कुरा उठाउनु भएको थियो । सबैलाई मिलाएर समन्वय गरेर अगाडि बढ्ने कुरा भएको छ,’ प्रवक्ता गिरीले भने।
त्यो बाहेक बैठकमा सभा सञ्चालनमा देखिएका समस्या र समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको गिरीले बताए। बैठकमा सांसदहरू उपस्थित हुने र हाजिरी गरेर बाहिरिँदा कोरम पुग्ने समस्या हुने पनि बैठकमा कुरा उठेको थियो।






































