वि.सं.२०८३ असार २३ मंगलवार

रौतहटको गढीमाईको बालुवा ठेक्कामा राजस्व चुहावट, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

khanepani

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ का लागि समनपुर नाकाबाट बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासीको ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँमा कबोल गरेको पाइएको अख्तियारले जनाएको छ।

बोलपत्रको सर्त अनुसार सम्झौता अघि सात दिनभित्र सम्पूर्ण रकम बुझाउनुपर्ने व्यवस्था भए पनि कम्पनीले तोकिएको समय नाघेर २४ दिनपछि ८४ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरी सम्झौताका लागि निवेदन दिएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि कम्पनीले एक करोड रुपैयाँ पहिले नै दाखिला गरिसकेको भनी झुट्टा विवरण समावेश गरेर टिप्पणी पेश गरिएको र नगर प्रमुखले त्यसलाई स्वीकृत गर्दै बोलपत्रको सर्तविपरीत एक महिनाका लागि १० हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री तथा निकासी गर्न अस्थायी अनुमति दिएको आरोप लगाइएको छ।

तर उक्त अवधिमा ५४ हजार ३५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरी ३ करोड ३२ लाख ६९ हजार ७८९ रुपैयाँ ५८ पैसा बराबरको लाभ लिएको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।

अनुसन्धान अनुसार कम्पनीले ठेक्का सम्झौताबापत १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्र दाखिला गरेको थियो। यसरी ठेक्काको बाँकी २ करोड १५ लाख ३७ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करबापत ४२ लाख २५ हजार रुपैयाँ गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व दाखिला नगरी नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई हानि पुर्‍याएको आरोप छ।

यसका साथै रकम दाखिला नभइसकेको अवस्थामा दाखिला भइसकेको भन्दै गलत प्रतिवेदन तयार गरी राजस्व चुहावट गराइएको निष्कर्षसहित नगर प्रमुखयादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय, भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौँ तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने राधेश्याम साहविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

ranechhap