काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूलाई वरिष्ठ नेता बनाउने संस्थापनको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा ब्रिफिङ गर्दै खड्काले उपसभापति विश्वप्रकाश शर्माले संस्थापनका तर्फबाट वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएका हुन् ।
‘विश्वप्रकाश शर्माले मलाई र डा.शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति बनेको छ भन्नुभयो,’ खड्काले बैठकमा भने, ‘उक्त प्रस्ताव मैले अस्वीकार गरे ।’
उपसभापति शर्मा र संस्थापनका अन्य नेताहरूले आफूलाई गरेका प्रस्तावबारे ब्रिफिङ गर्दै खड्काले त्यस्तो बताएका हुन् ।
पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा आफूले आफू र डा.शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका हुन् ।
शर्माले संस्थापनका तर्फबाट पठाएको ७ बुँदे प्रस्तावको लिखित जवाफ आफूले बुझाइसकेको खड्काले बताए । शर्माले जसरी आफूले पनि ह्वाट्सअपमा टाइप गरेर जवाफ सुनाएको खड्काले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
खड्काले त्यसपछि शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए। साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए।
खड्काले त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी नआएको र त्यसको केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएको पनि बैठकमा ब्रिफिङ गरे ।
खड्काले त्यसपछि पनि विश्वप्रकाश शर्माले संवाद भइरहेका बेला संवाद नभएको भनिएको भन्दै आपत्ति जनाएको जानकारी दिए।






































