वि.सं.२०८३ असार २१ आइतवार

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

khanepani

काठमाडौँ । आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् । मन्त्रिपरिषद्ले यस अघि नै आईजी द्वयको भ्रमण स्वीकृत गरेको थियो।

नेपाल प्रहरीमा आईजीपी नहुँदा नियमित कामकाज गर्ने गरी एआईजी राजन अधिकारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । आईजीपी कार्कीले एआईजी अधिकारीलाई निमित्तको जिम्मेवारी तोकेको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए । मानवश्रोत विकास विभागमा कार्यरत अधिकारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

सशस्त्रमा एआईजी वंशीराज दाहाललाई निमित्तको जिम्मेवारी दिइएको छ । दाहाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा विभाग प्रमुख हुन् ।
निमित्तको जिम्मेवारी पाउने दुवै जना एआईजीहरूमा पहिलो बरीयताका हुन् ।

आईजीद्वय कार्की र पौडेल युएन (संयुक्त राष्ट्रसङ्घ)को प्रधान कार्यालयमा आयोजित प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेका हुन् । युएनका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको सम्मेलन जुलाई ७ देखि ९ सम्म हुँदै छ ।

हरेक वर्ष हुने सम्मेलनमा यसअघि सङ्गठन प्रमुखसँगै प्रधान कार्यालय स्थित युएन शाखाका प्रमुख र आईजीका स्टाफ अधिकृत जाने अभ्यास थियो। राष्ट्रसङ्घले सङ्गठन प्रमुख सहित दुई जनाको लागी निमन्त्रणमा पनि पठाउने गरेको थियो ।

यसपटक निमन्त्रण आएको भए पनि मन्त्रिपरिषद्ले आईजीद्वयको मात्र भ्रमण स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए।

ranechhap