काठमाडौँ । सहआयोजक मेक्सिकोले फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा इङल्याण्डसँग भिड्दै छ ।
विश्व फुटबलकै ऐतिहासिक र प्रतिष्ठित रंगशालामध्ये एक मेक्सिको सिटी रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
यो खेल दुवै टोलीका लागि क्वार्टरफाइनल यात्रा तय गर्ने अवसर हुनेछ । यो त्यही मैदान हो जहाँ सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डले अर्जेन्टिनासँग विवादास्पद हार बेहोरेको थियो । त्यसबेला अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले हातले गोल गर्दै चर्चित ‘भगवानको हात’ गोल गरेका थिए भने त्यसपछि गरेको व्यक्तिगत उत्कृष्ट गोलले इंग्ल्यान्डको उपाधि यात्रामा पूर्णविराम लागेको थियो । चार दशकपछि इंग्ल्यान्ड फेरि त्यही मैदानमा अर्को कठिन चुनौती सामना गर्न तयार छ ।
समूह चरणमा शीर्ष स्थान हासिल गरेको इंग्ल्यान्डले अन्तिम ३२ को खेलमा डेमोक्रेटिक गणतन्त्र कङ्गोलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । कप्तान ह्यारी केनले खेलको अन्तिम समयमा दुई गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाएका थिए । केनको पहिलो गोल हेडमार्फत आएको थियो । उनले विश्वकपमा हालसम्म चार हेड गोल गरिसकेका छन्, जसमध्ये तीन गोल यही संस्करणमा आएका हुन् । सन् १९६६ यता विश्वकपमा सबैभन्दा बढी हेड गोल गर्ने खेलाडीको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोज (७) र गर्ड मुलर (५) मात्र केन भन्दा अगाडि छन् ।
इंग्ल्यान्ड लगातार तेस्रो विश्वकपमा क्वार्टरफाइनल पुग्ने लक्ष्यमा छ । टोली सन् २०१८ मा सेमिफाइनल पुगेको थियो भने सन् २०२२ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । यदि यसपटक पनि अन्तिम आठमा पुगेमा सन् १९६२, १९६६ र १९७० पछि लगातार तीन विश्वकपमा क्वार्टरफाइनल पुग्ने दोस्रो अवसर हुनेछ ।
गोलरक्षक जोर्डन पिकफोर्डले कङ्गोविरुद्ध पहिलो पोस्टतर्फ आएको प्रहार रोक्न नसकेको भन्दै आलोचना खेपेका थिए । यद्यपि उनले मेक्सिकोविरुद्ध मैदान उत्रिए विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक १७ खेल खेल्ने पिटर शिल्टनको कीर्तिमान बराबरी गर्नेछन् ।
उता मेक्सिको यस संस्करणमा उत्कृष्ट लयमा देखिएको छ। समूह चरणका तीनै खेल जितेको मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई २-० ले हराउँदै सहज रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो । मेक्सिकोको घरेलु मैदानमा रहेको प्रदर्शन झन् प्रभावशाली छ । टोलीले विश्वकपमा यस मैदानमा अहिलेसम्म कुनै खेल हारेको छैन । यहाँ उसले आठ खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । लगातार छ विश्वकप खेलमा जित निकालिसकेको मेक्सिकोले यही मैदानमा विश्वकप इतिहासमा सबै भन्दा धेरै ११ खेल खेल्ने टोलीको कीर्तिमान पनि बनाउनेछ ।
प्रतिस्पर्धात्मक फुटबलमा मेक्सिकोले यस मैदानमा खेलेका ८९ खेलमध्ये दुई खेल मात्र गुमाएको छ। सन् २००१ मा कोस्टारिका र सन् २०१३ मा होन्डुराससँग पराजित भएको मेक्सिको त्यसयता घरेलु मैदानमा लगातार २२ प्रतिस्पर्धात्मक खेल अपराजित छ । मुख्य प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा मेक्सिकोले यस विश्वकपमा लगातार चार जित दर्ता गरिसकेको छ, जुन एउटै विश्वकप संस्करणमा उसको सबै भन्दा सफल प्रदर्शन हो। यस शताब्दीमा घरेलु टोलीका रूपमा पहिलो चार खेल जित्ने टोलीमध्ये मेक्सिको जर्मनीपछि दोस्रो टोली बनेको छ । मेक्सिकोले इंग्ल्यान्डविरुद्ध पनि गोल नखाए विश्वकपको पहिलो पाँच खेल लगातार क्लिन सिट राख्ने इतिहासकै दोस्रो टोली बन्नेछ। यसअघि सन् १९९० मा इटालीले मात्रै यस्तो उपलब्धि हासिल गरेको थियो । मेक्सिकोका अग्रपङ्क्तिका खेलाडी जुलियन किन्योनेस उत्कृष्ट लयमा छन्। उनले यस विश्वकपमा तीन गोल र एक गोलका लागि अवसर सिर्जना गर्दै चार गोलमा प्रत्यक्ष योगदान दिएका छन्। यो सन् १९६६ यताको एउटै विश्वकप संस्करणमा कुनै पनि मेक्सिकन खेलाडीको संयुक्त सर्वाधिक योगदान हो। उनले एक गोल थपे सन् १९९८ मा लुइस हेर्नान्डेजले बनाएको एउटै संस्करणमा चार गोल गर्ने राष्ट्रिय कीर्तिमानसँग बराबरी गर्नेछन्।
रोबर्टो अल्भाराडो पनि मेक्सिकोका प्रमुख खेलाडी बनेका छन्। उनले प्रतियोगितामा तीन गोलका लागि अवसर सिर्जना गरिसकेका छन्, जुन कुनै पनि मेक्सिकन खेलाडीको विश्वकपमा सर्वाधिक हो। साथै अवसर सिर्जना, बल पुनः प्राप्ति र ट्याकलमा पनि उनी टोलीकै अग्रस्थानमा छन्।
विश्वकप इतिहासमा इंग्ल्यान्ड र मेक्सिकोबीच यो दोस्रो भेट मात्र हो । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डले समूह चरणमा मेक्सिकोलाई २-० ले हराएको थियो। त्यस खेलमा बबी चार्लटन र रोजर हन्टले गोल गरेका थिए भने इंग्ल्यान्डले त्यही वर्ष आफ्नो एकमात्र विश्वकप उपाधि जितेको थियो ।
त्यसयता दुवै टोलीबीच भएका चार मैत्रीपूर्ण खेलमा पनि इंग्ल्यान्ड विजयी भएको छ। विश्वकपमा भने इंग्ल्यान्डले यस अघि आयोजक राष्ट्रसँग तीन पटक खेलेको छ। उसले सन् १९५४ मा स्विट्जरल्यान्डलाई २-० ले हराएको, सन् १९८२ मा स्पेनसँग गोलरहित बराबरी खेलेको र सन् १९९० मा इटालीसँग २-१ ले पराजय बेहोरेको थियो ।
उच्च उचाइमा हुने प्रतिस्पर्धा र घरेलु समर्थकको साथ पाएको मेक्सिकोलाई चुनौती दिन इंग्ल्यान्डले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। विजेता टोलीले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।






































