वि.सं.२०८३ असार १८ बिहीवार

नेपाली कांग्रेसले प्रतिनिधिसभामा भन्यो, ‘राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्’

khanepani

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइमा हुन लागेको अर्बौँको आर्थिक चलखेल र संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ । बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसका सांसदका सांसद खडकबहादुर बुढालाई बोल्न दिएका थिए । बुढाले भ्रष्टाचारको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि उन्मुक्ति दिन नहुने बताए ।

सांसद बुढाले पासपोर्ट छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको बताए । ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ। निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ,’ बुढाले भने ।

सांसद बुढाले राहदानी विभागका महानिर्देशकलाई धम्क्याएर सस्तोमा आपूर्ति हुने नयाँ सम्झौता खारेज गरी पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न दबाब दिइएको बताए । सरकार, भेरिएसन अर्डर मार्फत भ्रष्टाचारमा लिप्त हुन खोजेको आरोप लगाउँदै उनले भने, ‘विगतका ‘ओम्नी’ जस्तै अर्बौँको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धक जस्तै बनाएर थर्काइएकोमा पनि बुढाले आपत्ति जनाए । उनले संवैधानिक निकायको स्वायत्ततामाथि प्रश्न पनि प्रश्न उठाए ।

‘अख्तियार प्रधानमन्त्री देखेर थरथर होस् कि प्रधानमन्त्रीले कुनै गलत काम गर्ने सोच राख्दा अख्तियार सम्झेर डराओस्,’ सांसद बुढाले प्रश्न गरे, ‘अख्तियारलाई प्रधानमन्त्री कार्यालयको आदेश पालक संस्था बनाउनु लोकतन्त्रको उपहास हो।’

प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्री र संवैधानिक निकायको मर्यादा मिचेर हुकुम चलाउन खोजेको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना गरे । सरकारले न संविधान न त कानुन, केवल हुकुम चलाउन खोजेको उनको आरोप थियो।

सांसद बुढाले संसद्‌मा प्रतिपक्षीको आवाज नसुनेको र सरकार सुशासनको सस्तो हल्लामा मात्र केन्द्रित भएको भन्दै आरोप लगाए ।

ranechhap