काठमाडौं । भेनेजुएलाको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या दुई हजार २९५ पुगेको छ ।
भेनेजुएलाको नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले राज्य सञ्चालित टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भूकम्पमा २ हजार २९५ जनाको अहिलेसम्म मृत्यु भएको. घाइते हुनेको संख्या ११ हजार २६७ पुगेको तथा १२ हजार ८४१ जना विस्थापित भएको जानकारी दिए ।
प्रभावित क्षेत्रमा खटाइएका चार हजारभन्दा बढी उद्धारकर्मीले हालसम्म भत्किएका संरचनाबाट छ हजार ४६१ जनाको सकुशल उद्धार गरेका छन् । उद्धार कार्य अझै तीव्र गतिमा जारी रहेको भन्दै रोड्रिगेजले आशा अझै बाँकी रहेको बताएका छन् ।
निर्वाचन तथा स्थानीय प्रशासनको विवरणअनुसार पहिलो पटक ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएपछि हालसम्म ७८२ वटा पराकम्पन रेकर्ड भएका छन्।
भूकम्पविद्का अनुसार पछिल्ला ४८ घण्टामा पराकम्पनको आवृत्ति र तीव्रता दुवै घट्दै गएको छ । यद्यपि जोखिम पूर्ण रूपमा नटरेको भन्दै रोड्रिगेजले क्षति पुगेका भवन तथा संरचनाको वरिपरि सतर्क रहन नागरिकलाई आग्रह गरेका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले सार्वजनिक गरेको प्रारम्भिक उपग्रह मूल्याङ्कनअनुसार भूकम्पका कारण ५८ हजारभन्दा बढी भवनमा क्षति पुगेको वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरिएको छ ।
तीसभन्दा बढी देशबाट पुगेका हजारौं उद्धारकर्मी प्रभावित क्षेत्रमा निरन्तर खोज तथा उद्धारमा खटिएका छन् । भग्नावशेषबाट जीवित व्यक्तिको खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले जनाएका छन् ।






































