वि.सं.२०८३ असार १२ शुक्रवार

पत्रकार महासंघले भन्यो, ‘पत्रकार विनोद ढकालको गिरफ्तारीले आतंक सिर्जना गरियो’

khanepani

काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक सिर्जना गर्न खोजिएको जनाएको छ ।

महासंघका महासचिव आशिष गुरागाईंद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेको वा पत्रकारितासँग सम्बन्धित सामग्री प्रकाशित गरेको आधारमा पत्रकारमाथि साइबर अपराधको मुद्दा लगाई पक्राउ गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात हो।’

पत्रकार ढकाललाई सुनसरी जिल्लामा दर्ता भएको साइबर क्राइम मुद्दाको अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त, नयाँ बानेश्वरले शुक्रबार बिहान पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनको डेरामा प्रहरीले छापा मारेको थियो । महासंघद्वारा जारी विज्ञप्तिमा ढकालको अविलम्ब रिहाइ, प्रेस स्वतन्त्रताको पूर्ण सम्मान तथा पत्रकारितामाथि दमनकारी प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारसँग जोडदार माग गरिएको छ।

साइबर क्राइम मुद्दामा पक्राउ परेको व्यक्तिको घर–कोठा खानतलासी लिने जस्ता कार्यप्रति महासंघ, उपत्यका प्रदेशले आपत्ति जनाएको छ । ‘यो पत्रकारिता क्षेत्रलाई नै आतंकित पारेर शासकहरु स्वेच्छाचारी हुन चाहेको घटनाका रूपमा हामीले लिएका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

ranechhap