वि.सं.२०८३ असार १२ शुक्रवार

रास्वपा उपसभापतिमा चर्चा गरिएकी प्रतिभा केन्द्रीय सदस्यमै उठिनन्

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीमा धेरैले खोजेको र नभेटेको नाम हो प्रतिभा रावल । चुनाव अघि उपसभापतिको आकांक्षीका रुपमा व्यापक चर्चा गरिएकी उनी केन्द्रीय सदस्यकै दौडमा सामेल भइनन् ।

रास्वपाको अघिल्लो कार्यसमितिमा सहप्रवक्ता रहेकी प्रतिभा अहिले सरकारमा सामान्य प्रशासनमन्त्री छिन् । पार्टीभित्र ‘लो प्रोफाइल’ मा रहेर काम गरिरहेकी उनी सरकारमा गएपछि एकाएक चर्चामा आइन् । वालेन्द्र शाह नेतृत्वको मन्त्रीपरिषदमा राम्रो काम गरिरहेका मन्त्रीहरूको सूचीमा उनको नाम अग्रस्थानमा आउँछ । यससँगै पार्टीभित्र पनि उनको लोकप्रियता ह्वात्तै बढेको छ ।

प्रतिभालाई महिला उपसभापतिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, केन्द्रीय सदस्यमै उम्मेदवारी नदिनुले रास्वपाभित्र कौतुहलता बढेको छ । मतदानका क्रममा थुप्रै महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मेसिनभित्र प्रतिभाको नाम खोजेका थिए । नभेटेपछि उनीहरू आश्चर्यमा परे ।

प्रतिभाले केन्द्रीय सदस्यमा लड्ने औपचारिक घोषणा सामाजिक सञ्जालबाट गरिसकेकी थिइन् । समर्थकहरुले पनि उनको व्यापक प्रचार–प्रसार गरेका थिए । उम्मेदवारी पछि हटेको भने कमैलाई थाहा थियो ।

उपसभापतिमा भने उनले औपचारिक दाबेदारी प्रस्तुत गरिसकेकी थिइनन् । प्रतिभाले उपसभापतिको निर्वाचनमा सोविता गौतमलाई समर्थन गरेकी छन् । उनी सोविताको मनोनयन दर्ता गर्दा प्रस्तावक नै बसिन् । यसले रास्वपाभित्र सम्भावित प्रतिस्पर्धीहरूबीच राजनीतिक सौहार्दताको मीठो सन्देश प्रवाह भएको छ ।

रास्वपामा ९९ केन्द्रीय सदस्य निर्वाचनबाट र बाँकी ५१ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । चुनावमा प्रतिस्पर्धा नगरेपछि प्रतिभालाई सभापतिले मनोनित गरेर केन्द्रीय सदस्यमा लैजाने धेरैले अनुमान गरेका छन् । प्रतिभा सभापति रवि लामिछानेकी कोर टीमकै नेतृ हुन् । त्यसैले रविकै आग्रहमा उनी केन्द्रीय समितिमा प्रतिस्पर्धा नगरेको अनुमान पनि गरिएको छ ।

रास्वपामा निर्वाचित केन्द्रीय सदस्यहरुले मात्रै पदाधिकारीको निर्वाचनमा भाग लिन सक्छन् । मनोनित केन्द्रीय सदस्यहरू पदाधिकारी बन्नलाई मनोनित नै हुनपर्छ । एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री सभापतिले मनोनित गर्ने व्यवस्था छ । त्यसैले प्रतिभालाई केन्द्रीय सदस्य र त्यसपछि पदाधिकारीमा मनोनित गर्ने ढोका बन्द भइसकेको छैन ।

यस विषयमा जिज्ञासा राख्दा उनले आफूले जहिले पनि पार्टीको हितमा काम गरिरहेको र यसपटक पनि पार्टीकै हितमा निर्णय लिएको बताइन् । केन्द्रीय सदस्यमा चुनाव नलड्नका लागि कुनै पनि पूर्वसहमति नगरेको उनको भनाइ छ ।

‘मैले कुनै पनि पदमा दाबी गरेको छैन र आकांक्षा पनि राखेको छैन । पार्टीको मार्गदर्शन अनुसार काम गरिरहेको छु । म केन्द्रीय सदस्यमा नउठ्नका लागि कुनै शर्त प्रस्तुत गरेको छैन,’ उनले भनिन् ।

ranechhap