काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भिभिआइपी सुरक्षाको विषयमा स्पष्ट मापदण्ड पालना हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री वा अन्य भिभिआइपीलाई व्यक्तिगत सहयोग आवश्यक पर्न सक्ने भएपनि सामान्यतया उनीहरूको लगेज बोक्ने वा व्यवस्थापन गर्ने काम सहयोगीहरूले गर्ने उनको भनाइ छ।
उनले भनेका छन्, ‘सत्य बोल्दा पनि पूर्वाग्रही सोच राख्नेलाई विरोध जस्तो लाग्छ । प्रधानमन्त्री वा अन्य भिभिआइपीलाई व्यक्तिगत सहयोग चाहिन्छ । कुनै भिभिआइपीले आफ्नो लगेज आफैँ बोकेर गाडीमा राख्ने र गाडीबाट निकालेर बस्ने ठाउँमा सामान्यतया लग्दैन । कसैले सहयोग गरेकै हुन्छ र गर्नु पनि पर्छ । तर सुरक्षाको मामला फरक हो । सुरक्षा कर्मीलाई सुरक्षा बाहेक अरू काम लगाउन हुँदैन/मिल्दैन ।’
तर सुरक्षा सम्बन्धी जिम्मेवारीमा खटिएका सुरक्षाकर्मीलाई सुरक्षा बाहेक अन्य काममा लगाउनु उचित नहुने उनको भनाइ छ। नेपालमा भिभिआइपी सुरक्षासम्बन्धी सिद्धान्त र तालिमका साथै अमेरिकी राष्ट्रपतिको सुरक्षा प्रणालीबारे समेत सामान्य जानकारी रहेको बताए।
कुनै पनि भिभिआइपीको कोर सुरक्षा घेरामा रहने सुरक्षाकर्मीले व्यक्तिगत झोला वा गैरसुरक्षा सामग्री बोकेर सँगै नहिँड्ने बताए। त्यस्ता सामग्रीहरू सामान्यतया पहिले नै सवारी साधनमा राखिने वा अन्य सहयोगीमार्फत व्यवस्थापन गरिने उनको भनाइ छ।
‘नेपालमा चाहे जुन सुकै पार्टीका नेताले सुरक्षा कर्मीलाई प्राय दुरुपयोग गरेकै छन् । अब कसैले नगरौँ । र, अन्जानमा गल्ती भयो भने स्वीकार गरौँ, झुट नबोलौँ’ उनको भनाइ छ।








































