वि.सं.२०८३ असार ९ मंगलवार

सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्‍यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पछिल्लो सात–आठ वर्षमा पार्टी केवल सत्ताको लुछाचुँडी र भागबण्डामा अल्झिएका कारण नागरिकको भरोसा टुटेको बताएका छन् ।

मङ्गलबार झापामा कार्यकर्ता भेलामा सभापति थापाले कांग्रेस शक्तिको भोको समूह जस्तो देखिएको भन्दै यसलाई सच्याउनुपर्ने बताए ।

सभापति थापाले २०७२ सालमा संविधान बनेपछि भएका निरन्तरका सत्ता फेरबदल र कहिले एमालेसँग त कहिले माओवादीसँग मिलेर सरकार बनाउने प्रवृत्तिको आलोचना गरे ।

‘हामीलाई सरकार बनाउन र टिकाउन जस्तोसुकै गठबन्धन पनि हुने, तर नागरिकको समस्यासँग कुनै सरोकार नहुने अवस्था बन्यो,’ थापाले भने, ‘यही सत्ताको लोभले गर्दा कांग्रेसको छवि बिग्रिएको छ र नयाँ पुस्ता (जेनजी) हामीबाट टाढिएको छ।’

थापाले अबको कांग्रेस नेतामुखी नभई कार्यकर्ता र नागरिकमुखी हुनुपर्ने बताए । हालको संरचनामा सबैले माथिल्लो तह वा सभापतिलाई हेर्ने परिपाटी रहेको थापाले बताए । ‘अब यो पार्टीको पिरामिडलाई उल्ट्याउनुपर्छ। नेताले कार्यकर्तालाई र कार्यकर्ताले नागरिकलाई हेर्ने वातावरण बनाउनुपर्छ,’ थापाले भने ।

उनले उम्मेदवार छनोटको प्रक्रियालाई प्रविधिमार्फत पारदर्शी बनाउने बताए । ‘अबको चुनावमा कसलाई टिकट दिने भन्ने कुरा केन्द्रले होइन, सम्बन्धित पालिकाका क्रियाशील सदस्यहरूले डिजिटल माध्यमबाट तय गर्नेछन्,’ थापाले भने ।

थापाले १५औँ महाधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष बनाउने प्रतिबद्धता जनाए । ‘१५औँ महाधिवेशन सबैको साझा महाधिवेशन हो। यदि कसैलाई निष्पक्षतामा शङ्का छ भने उहाँहरूले रोजेका मान्छे राखेर सदस्यता छानबिन र निर्वाचन समिति बनाउन म तयार छु,’ थापाले भने ।

संसद्‌मा जिम्मेवारी हेरफेर गरिएको विषयमा स्पष्ट पार्दै उनले यो कसैको अपमान नभई पार्टीको विधान र नयाँ नेतृत्व चयनपछिको स्वाभाविक प्रक्रिया भएको बताए।

ranechhap