काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिबद्धता सही तरिकाले पूरा भए मात्रै वार्ता सफल हुने बताएका छन् । मंगलबार पाकिस्तान भ्रमणमा निस्किने तयारीमा रहेका राष्ट्रपति पेजेस्कियानले एक्समार्फत अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘वार्ताको प्रभावकारिता सहमति गरिएका विषयको पूर्ण प्रतिबद्धता र तिनको यथार्थ कार्यान्वयनमा निर्भर हुन्छ । यस बाटोमा भएका प्रगतिलाई स्वीकार गरिएका जिम्मेवारीहरूको व्यवहारिक पालनामार्फत मापन गरिन्छ,’ उनले लेखेका छन्, ‘सहमति गरिएका विषयभन्दा बाहिर गएर दिइने बयानबाजीले वार्तालाई अगाडि बढाउन मद्दत गर्दैनन् ।’
उनको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अधिकारी लक्षित रहेको बुझ्न सकिन्छ ।
यस अघि सोमबार मात्रै स्विट्जरल्यान्डमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच पहिलो चरणको वार्ता भएको थियो । जुन वार्ता सफलतापूर्वक सम्पन्न भएको पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले प्रतिक्रिया दिएका थिए ।
यसैबीच इरानी राष्ट्रपति पेजेस्कियान मंगलबार पाकिस्तान पुग्ने कार्यक्रम छ । उनी त्यहाँ पुगेर पाकिस्तानी समकक्षी आसिफ अली जरदारी र प्रधानमन्त्री सरिफसँग भेटवार्ता गर्ने बताइएको छ ।









































