काठमाडौं । कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा, वडा नम्बर ३ को बोराडाँडी र वडा नम्बर १३ बाट ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ (२ ग्राम ३०३ मिलिग्राम) सहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा स्थानीय शिवनारायण राना (२१), रामअवतार राना (२९), सुवास राना (२४), जस्मन्त राना (२७), सुवास राना (२७) र एक जना नाम नखुलाइएका १८ वर्षीय किशोर रहेका छन् ।
यस्तै वडा नम्बर ३ मा पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागुऔषध चरेस (२ ग्राम ६३ मिलिग्राम) सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वडा नम्बर १३ का २० वर्षीय बेनी माधव खड्का र १८ वर्षिय किशोर रहेका छन् ।
त्यसैगरी वडा नम्बर १ महोत्सव ग्राउन्डबाट अवैध लागुऔषध गाँजा (४ ग्राम ३४० मिलिग्राम) र चरेस (११० मिलिग्राम) सहित तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय २६ वर्षीय आयुष ओली, वडा नम्बर २ का २६ वर्षीये अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापा रहेका छन् । वडा प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबीच बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाईनबाट गौमुल गाउँपालिका ४ का २४ वर्षीय पुरन रोकाया ७ ग्राम ४३० मिलिग्राम लागुऔषध चरेशसहित पक्राउ परेका छन् ।
रोकायाबाट ४० ग्राम १९० मिलिग्राम गाँजासमेत बरामद भएको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ ।









































