वि.सं.२०८३ असार ८ सोमवार

इरान-अमेरिकाबीच स्विजरल्याण्डमा वार्ता, पहिलो चरणमै मतभेद

khanepani

काठमाडौँ । इरान र अमेरिकाका प्रतिनिधिबीच स्विट्जरल्यान्डमा करिब ८० मिनेट लामो वार्ता भएको छ । दुवै देश ६० दिने युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा बदल्ने प्रयासमा रहेका छन् । तर पहिलो चरणकै वार्तामा गम्भीर मतभेद देखिएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजराइल र हिजबुल्लाहबीच जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य नभएसम्म थप वार्ता सम्भव नहुने बताएको छ । आगामी बैठक कहिले हुने भन्नेबारे भने अझै टुंगो लागेको छैन । वार्तामा पाकिस्तान र कतारका अधिकारीहरूले मध्यस्थताको भूमिका निभाएका थिए ।

रिपोर्टका अनुसार अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वार्तामा तीन मुख्य विषयमा अड्चन देखिएको छ । होर्मुज मार्ग पुनः पूर्ण रूपमा खोल्ने विषयमा इरानका फरक-फरक भनाइ स्पष्ट गर्ने कुरा, दक्षिणी लेबनानमा युद्धविराम कार्यान्वयन, र आणविक सम्झौतासम्बन्धी विषयहरू रहेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै लेबनानमा हिजबुल्लाहलाई रोक्न असफल भएमा पुनः सैन्य कारबाही हुन सक्ने बताएका थिए । इरानले भने उक्त चेतावनी अस्वीकार गर्दै कुनै पनि सम्भावित संघर्षका लागि तयार रहेको प्रतिक्रिया दिएको छ ।

इरानी संसदका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले अमेरिकी धम्कीको कुनै असर नपर्ने बताएका छन् । उनले अमेरिकी नेताहरूलाई आफ्ना अभिव्यक्तिमा सावधानी अपनाउन चेतावनी दिँदै इरानी सेनाहरू आवश्यक परे कडा जवाफ दिन तयार रहेको उल्लेख गरे ।

गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै धम्कीले प्रभाव पारेको भए अमेरिका अहिलेको अवस्थामा नपुग्ने दाबी गरेका छन् । उनले इरानले यस्ता चेतावनीलाई गम्भीर रूपमा नलिने पनि स्पष्ट पारे ।

उनका अनुसार इरानी सेनाहरू आवश्यक परे फरक शैलीमा जवाफ दिन सक्षम रहेको र उनीहरूले जे चाहन्छन् भन्न सक्छन्, तर प्रतिक्रिया आफुहरुले दिने चेतावनी दिएका छन् ।

ranechhap