चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आमूल परिवर्तनका लागि पुराना विकृति र विसंगतिहरूको अन्त्य गर्दै नयाँ दिशामा अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शुभकामना दिएका छन् । चितवनमा आइतबार आयोजित रास्वपाको ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ म्यान्डेटसहित आएको रास्वपाले देशलाई नयाँ युगतर्फ लैजाने विश्वास व्यक्त गरे ।
सम्बोधनका क्रममा अध्यक्ष यादवले निर्वाचनमार्फत रास्वपाले प्राप्त गरेको नयाँ म्यान्डेटका लागि बधाई दिँदै अब विगतका कमी–कमजोरी र विकृतिहरूलाई त्यहीँ छाडेर अगाडि बढ्नुपर्नेमा जोड दिए । यो महाधिवेशन नयाँ युगको थालनीका लागि एउटा महत्वपूर्ण सावित हुने अपेक्षा राख्दै उनले मुलुकले अहिले मुख्य रूपमा सुशासन र सामाजिक न्याय खोजिरहेको उल्लेख गरे ।
संविधानका विषयमा टिप्पणी गर्दै अध्यक्ष यादवले वर्तमान संविधानमा संघीयता र गणतन्त्रजस्ता महत्वपूर्ण पक्षहरू समावेश भए तापनि धेरै ठाउँमा यो अपूर्ण र अमूर्त रहेको बताए । उनले संविधानमा रहेका विसंगतिहरूलाई हटाउन यसको परिमार्जन र संशोधन आवश्यक रहेको औंल्याउँदै त्यसका लागि रास्वपासँग ऐतिहासिक जिम्मेवारी रहेको स्मरण गराए । ‘संविधान संशोधन र परिमार्जन गरी यसलाई पूर्ण बनाउने जिम्मेवारी अब यहाँहरूको काँधमा छ,’ उनले भने ।
आर्थिक विकास र समृद्धिका लागि सुशासन र सामाजिक न्याय अनिवार्य सर्त भएको उल्लेख गर्दै अध्यक्ष यादवले रास्वपाको महाधिवेशनले यसबारे ऐतिहासिक निर्णयहरू गर्ने विश्वास व्यक्त गरे । मुलुकको समग्र परिवर्तनका लागि पुराना खराब आचरणको अन्त्य गर्दै नयाँ सुरुवात गर्न र देशलाई सही दिशामा डोऱ्याउन रास्वपा सफल होस् भन्ने कामना समेत उनले गरे ।








































