कैलाली । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कैलाली र कञ्चनपुरमा हुन सक्ने सम्भावित विभिन्न विपद्का घटनामा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न समुदाय र सशस्त्र प्रहरीबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन नं. ७ बैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी दिगविजय सुवेदीले गरेका थिए। कार्यक्रममा सहभागी विपद् स्वयंसेवक तथा विपद् सूचकहरूले बाढी, डुबान, आगलागीलगायतका विपद्का घटनाका क्रममा आफूहरूले भोगेका अनुभव सुनाउँदै समयमै सूचना प्रवाह र प्रभावकारी समन्वयको आवश्यकता औँल्याएका थिए।
समुदाय विपद् स्वयंसेवक केशवप्रसाद जोशीले विपद्का बेला समुदायमै रहेका स्वयंसेवक र विपद् सूचकहरू पहिलो सूचना दाता तथा पहिलो प्रतिकार्यकर्ता हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि र आवश्यक उद्धार सामग्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी सुवेदीले अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई आगामी दिनमा प्रदेश तथा स्थानीय तहका विपद् व्यवस्थापन योजनामा समावेश गर्नुपर्ने बताए। उनले समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै विपद् व्यवस्थापनका कार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।
सशस्त्र प्रहरी बल, नेपालले यसअघि कैलालीको डुडेझारी र डोटीको बुडरमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ। साथै पालिका तथा जिल्ला स्तरका विपद् सिमुलेसन अभ्यास सम्पन्न गरी प्रदेशस्तरीय विपद् अभ्यास समेत कर्णालीको चिसापानीमा सञ्चालन गरिसकेको जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा कैलाली, कञ्चनपुर तथा बनबेहडास्थित सशस्त्र प्रहरी बलका विभिन्न गणका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।








































