काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपाल–संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा सभामुख अर्यालले संयुक्त अरब इमिरेट्स नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्त्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबिचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन अनुरोध गरे ।
भेटका क्रममा राजदूत अल शम्सीले नेपाल–यूएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यूएई सरकार सकारात्मक रहेको बताए।
उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरे।









































