वि.सं.२०८३ असार ३ बुधवार

सभामुख डोलप्रसाद अर्यालसँग बङ्गलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानको शिष्टाचार भेटवार्ता

khanepani

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताए ।

सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशमा आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गरे । साथै नेपालमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै दुवै देशका सरकारबिचको सहकार्य थप सुदृढ भई द्विपक्षीय सम्बन्धका विविध आयामले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।

भेटमा सभामुख अर्यालले बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै नेपालको विकास यात्रामा बङ्गलादेशका असल अभ्यासहरू उपयोगी हुन सक्ने धारणा राखे । ‘नेपाल र बङ्गलादेशबिचको सहकार्यले दुवै देशका जनताको सुख, समृद्धि र कल्याणमा महत्त्वपूर्ण योगदान पुग्नेछ,’ उनले भने ।

सभामुख अर्यालले खेलकुद क्षेत्रमा बढ्दो सहकार्यले पनि दुई देशका जनताबिचको सम्बन्धलाई थप नजिक ल्याएको उल्लेख गर्दै फुटबल, क्रिकेट, भलिबललगायत खेलमार्फत युवा पुस्ताबिच मित्रता, सम्पर्क र आपसी समझदारी अभिवृद्धि भएको बताए । साथै पर्यटन, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कमार्फत आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा व्यक्त गरे ।

भेटका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले विशेष गरी चिकित्सा शिक्षा तथा अन्य प्राविधिक विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको योगदानको प्रशंसा गरे ।

जलवायु परिवर्तनका साझा चुनौतीबारे चर्चा गर्दै सभामुख अर्यालले हिमाली क्षेत्रको वातावरणीय जोखिम र समुद्री तटीय क्षेत्रका समस्याहरू दुवै मुलुकका साझा सरोकारका विषय भएको उल्लेख गरे ।

उक्त अवसरमा राजदूत रहमानले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास तथा आर्थिक रूपान्तरणका क्षेत्रमा समान प्रकृतिका चुनौतीहरू सामना गरिरहेको उल्लेख गरे । उनले यी साझा समस्याहरूको समाधानका लागि दुवै मुलुकबिच सहकार्य, अनुभव आदानप्रदान तथा साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य तथा जनस्तरीय सम्बन्धका क्षेत्रमा नेपाल र बङ्गलादेशबिच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको समेत राजदूत रहमानले बताए । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई थप प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

ranechhap