वि.सं.२०८३ असार ५ शुक्रवार

प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन।’

छिमेकी देश भारतले चिया निर्यातमा नयाँ झन्झटिलो मापदण्ड तेर्स्याउँदा इलामका चिया उद्योगी र किसान मारमा परेको उनको भनाइ छ । गुणस्तर परीक्षणको नाममा भारतले लगाएको नयाँ प्रावधानका कारण इलामका ८३ वटा चिया कारखाना तीन दिनदेखि ठप्प भएको राईले बताए ।

सांसद राईका अनुसार भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ नामक नयाँ मापदण्ड लागू गरेको छ। यसले गर्दा चियाको टेस्टिङ रिपोर्ट आउन दुई साता भन्दा बढी लाग्ने र रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने अवस्था रहेको उनले बताए । रिपोर्टमा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने बाध्यकारी नियमले सूर्योदय नगरपालिकाका ५३ र जिल्लाभरका ८३ उद्योगमा ताला झुन्डिएको उनले बताए ।

उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्यमीहरूले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था सृजना भएको राईले बताए ।

सांसद राईले तत्काल समस्या समाधानका लागि चिया निर्यात खुलाउन तत्काल जीटुजीको पहल गर्न कूटनीतिक अभ्यासमार्फत चिया निर्यातको दीर्घकालीन समाधान खोज्न नेपालमै चिया परीक्षण ल्याब निर्माणको प्रक्रिया अघि बढाउन र तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यातको नयाँ बाटो खोल्न पनि माग गरे ।

ranechhap