विराटनगर । नेपाली कांग्रेस नेता रामहरि खतिवडाले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य नभए आगामी निर्वाचनमा कांग्रेसले देशभरि लज्जास्पद हार व्यहोर्नुपर्ने बताएका छन् ।
विराटनगरमा आयोजित कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई आग्रह गरे ।
नेता खतिवडाले अहिलेको समयमा सबै प्रजातन्त्रवादी शक्तिहरू एउटै छातामुनि गोलबन्द हुनुपर्नेमा कांग्रेसभित्रै एकले अर्कालाई अपमान गर्ने र सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको बताए ।
‘एउटा कांग्रेसले अर्को कांग्रेसलाई गाली गर्ने र सामाजिक सञ्जालमा खुइल्याउने पद्धतिले कांग्रेस मात्र होइन, देशको प्रजातन्त्र, राष्ट्रियता र कानुनी राज्यसमेत कमजोर भएको छ,’ उनले भने ।
पार्टीभित्र पुस्तान्तरणको बहस चलिरहेका बेला नेता खतिवडाले पुरानो र नयाँ पुस्ताबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
‘पुरानो पुस्ताले ‘स्याबास कांग्रेस’ र नयाँ पुस्ताले ‘क्याबात कांग्रेस’ भन्न सक्ने वातावरण निर्माण हुनुपर्छ । कांग्रेसलाई अगाडि बढाउन एकताको विकल्प छैन,’ उनले भने ।
आगामी १५औं महाधिवेशनमा सबै पक्षलाई समेटेर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे ।
‘यदि १५औं महाधिवेशनमा हामी एकताबद्ध भएर जान सकेनौं भने ७७ वटै जिल्लाका स्थानीय र प्रदेश तहमा कांग्रेसले अझ लज्जास्पद हार व्यहोर्नुपर्ने सम्भावना छ,’ उनले भने ।








































