काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका छन् । हिजो सुचारु भएको संसद बैठक आज फेरि बिथोलिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजो दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् । नेकपाका सांसद वर्षामान पुनले अर्थमन्त्रीले धाकधम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाए ।
उनीमाथि संसदीय छानबिन गर्नुपर्ने उनको माग थियो ।
पुनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो । यो आर्थिक अपराध हो । उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ । यसले मानहानी भएको छ । सभामुखबाट रुलिङ हुनुपर्छ । संसदीय छानबिन गरिनुपर्छ ।’
हिजो आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले सांसदहरूलाई लक्ष्यित गर्दै ‘तपाईंहरुको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भनेका थिए ।









































