वि.सं.२०८३ जेठ २७ बुधवार

विराटनगर विमानस्थलमा १०० रुपैयाँ पर्ने चकलेटको मुल्य २०० रुपैयाँ, ४ क्याफेलाई जरिवाना

khanepani

विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक मूल्य असुलेको पाइएपछि स्थानीय प्रशासनले कारबाही गरेको छ ।

मंगलबार बेलुका जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा आकस्मिक अनुगमन भएको थियो । अनुगमनका क्रममा उपभोक्तासँग चर्को मूल्य लिएर ठगी गर्ने चारवटा होटल र क्याफेलाई ३ लाखका दरले जरिबाना गरेको हो ।

विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । अनुगमनका क्रममार व्यवसायीहरूले यात्रीको बाध्यताको फाइदा उठाउँदै सामानको मूल्य दोब्बरभन्दा बढी लिने गरेको तथ्य फेला परेको हो ।

ममता होटल, ग्यालेक्सी क्याफे एण्ड होटल, गरिमा क्याफे,अनुकुल होटेल एन्ड भान्सा घरलाई जरिवाना गरेको हो ।

ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको थियो । ग्यालेक्सी क्याफे एण्ड होटलले ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको थियो ।

गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोला ८० रुपैयाँमा बिक्री गरेको थियो । अनुकुल होटलले ८ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम प्रत्येक होटललाई ३–३ लाख रुपैयाँका दरले तत्कालै जरिबाना गरिएको सहायक प्रजिअ सरोजराज कोइरालाले जानकारी दिए ।

अनुगमन टोलीमा वाणिज्य कार्यालयका प्रतिनिधि, प्रहरी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए ।

ranechhap