काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती सभापतिमा तीन जना बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार बिहान हेटौंडामा सुरु भएको बागमतीको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमित जुट्न नसकेपछि नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु गर्न लागिएको छ ।
सभापतिमा पदमा वर्तमान सभापति डा. अच्युत्तम लामिछाने, हालका प्रदेश प्रवक्ता उत्सव अर्याल र काभ्रे–२ का सांसद बदन भण्डारी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।
सभापतिका उम्मेदवारीको तयारी गरेका प्रवक्ता अर्यालले तीन जना सभापतिको आकांक्षी रहेको जानकारी गराए ।
लामिछाने बागमतीको संस्थापक सभापति हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य पनि छन् ।
उम्मेदवारमा प्रतिस्पर्धा गर्न लागेका भण्डारी पार्टीको सार्वजनिक मामिला विभागको सचिव छन् ।
सभापतिमा निर्वाचित हुनुका लागि उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशत कटाउनु पर्दछ ।
कुनै उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके पहिलो र दोस्रो स्थानको मत ल्याउने बीचमा दोस्रो चरणको मतदान हुने व्यवस्था छ ।
उपसभापतिमा डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । प्रदेशको स्वास्थ्य विभागमा रहेका ढकाल शंखरापुर अस्पताल सञ्चालक पनि हुन् । महामन्त्रीमा सुरेन्द्र भट्ट सोही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री भट्टले हालकै पदको आकांक्षी रहेको जानकारी गराए ।
रास्वपाको विधान अनुसार प्रदेश अनुसार कार्यसमितिको आकार फरक–फरक हुने व्यवस्था गरिएको छ ।
बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री १/१ जना हुने व्यवस्था छ ।
सहमहामन्त्री दुई जना हुने र फरक–फरक लिंगको हुनुपर्ने विधानमा प्रावधान छ । पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ ।
निर्वाचन हुने अवस्थामा नयाँ कार्यसमितिका लागि दुई चरण गर्नुपर्ने विधि बनाइएको छ । पहिलो चरणमा सभापति र प्रदेश सदस्यको चुनाव गर्ने व्यवस्था छ । प्रदेश सदस्यमा चयन भएकाहरूबाट थप पदाधिकारी छनोट गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्नुपर्ने हुन्छ ।








































