वि.सं.२०८३ जेठ २६ मंगलवार

प्रधानमन्त्रीले आफ्नो व्याख्यालाई सच्याउनुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको सीमा मिचेको हो’ भनी हस्ताक्षर गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले संसद् रोकेको देखिए पनि यसको मुख्य जिम्मेवार सरकार र प्रधानमन्त्री भएको बताइन् ।

ओलीले सदनको अवरोध हटाउन दुई वटा प्रस्ताव अघि सारेकी छन् । पहिलो, प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयको जुन वक्तव्य दिनुभएको छ, त्यसमा सत्तापक्षका सांसदहरूले हस्ताक्षर गरेर सदनबाट स्वीकार गर्नुपर्ने। दोस्रो, यदि त्यसो होइन भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो वक्तव्य गलत भएको स्वीकार गर्दै सच्याउनुपर्ने।

‘प्रधानमन्त्रीज्यूले एउटा कर्मचारीको म्यासेजलाई राष्ट्रिय मुद्दा बनाएर सामाजिक सञ्जालमा ‘बुलिङ’ गर्न सक्नुहुन्छ, तर राष्ट्रको सीमा जस्तो गम्भीर विषयमा स्पष्टीकरण दिन किन सक्नुहुन्न,’ ओलीले भनिन् । ओलीले बीवाइडी विद्युतीय गाडीको कर छली प्रकरणमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले यस प्रकरणमा निष्पक्ष र विश्वसनीय छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा आफ्नो जिम्मेवारीबाट अलग रहनुपर्ने माग गरिन्।

यस अघि समाचार शीर्षकमा अन्यथा भएकाले सच्याइएकाे छ । सम्पादक

ranechhap