काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा चलाइएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष अदालतमा बयान सुरु भएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पौडेलको बयान भइरहेको छ । बयानका लागि पौडेल कार्यालय खुलेलगत्तै सोमबार अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक सकिएपछि पुर्पक्षका लागि थुना, धरौटी वा साधारण तारिखमा राख्ने विषयको टुंगो लाग्नेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ९ मा पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बिगो बराबर जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाइएको चल अचल सम्पत्ति जफतको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको प्रशासकीय अधिकृतका रूपमा करारमा सेवा प्रवेश गरेका थिए । २०६२ माघ २८ सम्म उनी उक्त पदमा कार्यरत थिए । पछि २०६५ असार १२ मा पुनः करारमै नियुक्त पौडेल त्यसपछि निरन्तर सार्वजनिक पदमा बहाल थिए ।
त्यहीँबाट २०७८ चैत २४ मा उनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । २०६१ मा सरकारी सेवामा बहाल रहेदेखि २०७९ फागुन ३० सम्ममा पौडेलले आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।
यो अवधिमा पौडेलले २४ करोड ९४ लाख रुपैयाँको कारोबार गरेको तर १ करोड १९ लाख रुपैयाँ बराबरको मात्रै वैध आय भेटिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।








































