काठमाडौँ । आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ ।
वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरूसहितको छलफलबाट विभिन्न निर्णय गरेको छ ।
बैठकले आयोगको ७६औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सञ्चार क्षेत्रबाट प्रचारप्रसार गर्ने कार्यलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।
आयोगका सदस्य राई संयोजकत्वको उपसमितिमा आयोगका सचिव रामेश्वर दङ्गाल, सहसचिव पुरुषोत्तम शर्मा, सूचना प्रविधि निर्देशक रमेश सुवेदी, उपसचिव सुशीला पौडेल ढकाल, उपसचिव दीपक खडका, प्रमुख लेखा नियन्त्रक हिरा न्यौपाने सदस्य छन् भने उपसचिव देवीप्रसाद सुवेदी सदस्य–सचिव छन् ।
उपसमितिमा सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, सार्वजनिक प्रसारण सेवा नेपाल, राष्ट्रिय समाचार समिति (रासस) र गोरखापत्रका प्रतिनिधि आमन्त्रित सदस्य छन् ।








































