जनकपुरधाम । नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित ब्राण्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।
होटलले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी नयाँ शाखा सञ्चालनमा आएको जानकारी दिएको हो । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने भएको छ ।
उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन कार्यक्रम’ समेत आयोजना गर्ने जनाएको छ । होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार कार्यक्रममा पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी गरिने छ ।
उक्त कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
उपाध्यक्ष न्यौपानेले जनकपुरधाममा चारतारेस्तरको होटल विस्तार हुनु पौवाको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै धार्मिक, आध्यात्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनसँगै रोजगारी र आतिथ्य उद्योगको विकासमा समेत यसले योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
होटलमा फरक–फरक सुविधासहित ६२ वटा कोठा रहेका छन्। स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम र स्पा लगायत चारतारेस्तरका आवश्यक पूर्वाधार सञ्चालनमा आइसकेको होटलले जनाएको छ।
नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घण्टा उपलब्ध गराउने लक्ष्य रहेको होटल व्यवस्थापनले जनाएको छ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बाबजुद संस्थाले देशव्यापी रूपमा सेवा विस्तार गरिरहेको बताए ।
रुपन्देहीबाट सुरु भएको पौवाको यात्रा जनकपुरधामसम्म आइपुग्दा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको उनको भनाइ छ।
हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोक लगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन् ।
साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको झिंगामारामा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । यसै वर्षको वैशाखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि चारतारेस्तरको अर्को होटल सञ्चालनमा आएको छ ।
अध्यक्ष भण्डारीले होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडलका रूपमा स्थापित भएको दाबी गर्दै लगानीकर्ता र कर्मचारी दुवैलाई संस्थाको विकास यात्रामा साझेदार बनाइएको बताए ।
कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारिएको उनको भनाइ छ ।
होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपाली स्वाद, संस्कार र आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्यसहित ‘मिसन १००’ अभियानअन्तर्गत आगामी दशकमा देश तथा विदेशमा होटलको उपस्थिति विस्तार गर्ने रणनीतिमा संस्था अघि बढिरहेको बताए ।
सामूहिक लगानी मोडेलमार्फत तीव्र विस्तारको योजना बनाइएको उल्लेख गर्दै उनले नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जनाए ।








































