वि.सं.२०८३ जेठ १५ शुक्रवार

गजाको ७० प्रतिशत भूभाग नियन्त्रणमा लिन इसराइली प्रधानमन्त्रीले दिए सेनालाई निर्देशन

khanepani

काठमाडौ । इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गजाको थप भूभाग नियन्त्रणमा लिन सेनालाई निर्देशन दिएका छन्।

उनले सुरु आतमा गजाको ७० प्रतिशत भूभाग कब्जा गर्ने लक्ष्यसहित सैन्य अभियान अघि बढाउन आदेश दिएको बताएका हुन्।

वेस्ट बैंकस्थित एक बस्तीमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहूले हाल इसराइलले गजाको ६० प्रतिशतभन्दा बढी भूभाग नियन्त्रणमा लिइसकेको दाबी गर्दै थप विस्तार गर्न निर्देशन दिएका हुन्।

‘हामी ५० प्रतिशतमा थियौँ, त्यसपछि ६० प्रतिशतमा पुग्यौँ। मेरो निर्देशन अब चरणबद्ध रूपमा अगाडि बढ्ने हो। सुरुमा ७० प्रतिशत पुगौँ। हामी हमासलाई चारैतिरबाट दबाबमा राखिरहेका छौँ र बाँकी संरचनालाई पनि समाप्त गर्नेछौं,’ उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

इसराइली आक्रमणपछि गजाको ठूलो हिस्सा ध्वस्त भइसकेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले दक्षिणी इसराइलमा आक्रमण गरेपछि सुरु भएको युद्धको दुई वर्षमा इसराइलले गजाको करिब ६४ प्रतिशत भूभाग प्रभावकारी रूपमा नियन्त्रणमा लिइसकेको अनुमान गरिएको छ।

अमेरिकाको मध्यस्थतामा गत अक्टोबरमा भएको युद्धविराम सहमतिअनुसार इसराइली सेना ‘यलो लाइन’ भनिने सीमारेखासम्म सीमित रहने र हमास बाँकी क्षेत्रमा रहने व्यवस्था गरिएको थियो।

तर रोयटर्सका अनुसार इसराइलले एकतर्फी रूपमा उक्त सीमारेखा हमासको नियन्त्रण क्षेत्रतर्फ अझ भित्र सार्दै आफ्नो प्रभाव विस्तार गरेको छ।

इसराइलले गजा, सिरिया र लेबनानका केही क्षेत्रलाई ‘बफर जोन’का रूपमा वर्णन गर्दै भविष्यमा हुन सक्ने लडाकु समूहका आक्रमण रोक्न यस्तो कदम आवश्यक रहेको बताउँदै आएको छ।

तर प्यालेस्टिनीहरूले यसलाई आफूहरूलाई स्थायी रूपमा विस्थापित गर्ने रणनीति भएको आरोप लगाएका छन्।

इसराइलका रक्षा मन्त्री इसराइल काट्जलगायत वरिष्ठ नेताहरूले गजाबाट ‘स्वेच्छिक बसाइँसराइ’ प्रोत्साहन गर्ने अभिव्यक्ति दिएपछि यस्तो आशंका अझ बढेको प्यालेस्टिनी पक्षको भनाइ छ।

नेतन्याहूको नयाँ निर्देशनसँगै गजामा इसराइली आक्रमण झन् तीव्र भएको छ। इसराइलले हालका आक्रमणहरू हमासका वरिष्ठ नेतामाथि केन्द्रित रहेको जनाएको छ।

मंगलबार हमासको सशस्त्र शाखाका प्रमुख मारिएका थिए भने त्यसको १० दिनअघि उनका पूर्ववर्ती पनि मारिएका थिए।

गजाको स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबार राति भएको अर्को इसराइली हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

जसमध्ये पाँच जना बालबालिका रहेका छन्। उक्त आक्रमणमा अन्य १८ जना घाइते भएका छन्। इसराइलले भने सो आक्रमण दुई हमास नेतामाथि लक्षित रहेको जनाएको छ।

यो आक्रमण मुस्लिम पर्व ईद अल-अजहाको समयमा भएको थियो, जतिबेला धेरै प्यालेस्टिनी परिवारहरू अस्थायी पाल तथा ध्वस्त भवनहरूमा भेला भएर पर्व मनाइरहेका थिए।

आक्रमणको प्रत्यक्षदर्शी इतिदाल अल–जाइमले छिमेकी भवनमा भएको बम आक्रमणपछि भग्नावशेष आफ्नो पालमाथि खसेको बताइन्।

‘हामी ठूलो विस्फोटको आवाजसँगै बाहिर निस्कने प्रयास गरिरहेका थियौँ। भग्नावशेष हटाएर बाहिर निस्किन एक घण्टा लागेको थियो,’ उनले भनिन्।

अर्का स्थानीय अबु आजामले गजामा कुनै पनि स्थान सुरक्षित नरहेको बताए। उनले भने, ‘यहाँ मानिस सडकमा, घरमा, अस्पतालमा वा बजार जाँदै गर्दा पनि निशाना बन्न सक्छ।’

स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम लागू भएयता गजामा इसराइली आक्रमणबाट ९ सयभन्दा बढी मानिस मारिइसकेका छन्। उता इसराइलले पनि यही अवधिमा लडाकु समूहको आक्रमणबाट आफ्ना चार सैनिक मारिएको जनाएको छ।

अमेरिकाले अघि सारेको नयाँ योजना अनुसार इसराइली सेना फिर्ता हुने र हमास निःशस्त्रीकरणमा जाने प्रस्तावमाथि वार्ता भइरहे पनि दुवै पक्षबीच अझै सहमति जुट्न सकेको छैन।

ranechhap