वि.सं.२०८३ जेठ १४ बिहीवार

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग नेपाली कांग्रेसको माग

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।

आगामी बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको संसदीय दलको बैठकपछि बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले यस्तो जानकारी दिएकी हुन् ।

प्रमुख सचेतक थापाले विगतमा भौतिक पूर्वाधारमा बढी केन्द्रित हुने परम्परा रहेको उल्लेख गर्दै यसपटकको बजेटले आम नागरिकको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको स्पष्ट पारिन् ।

‘विगत केही वर्षदेखि सरकार परिवर्तन भइरहँदा बजेट कार्यान्वयन सन्तोषजनक छैन । यसपटकको बजेटमा नेपाली कांग्रेसले पूर्वाधारभन्दा स्वास्थ्य र शिक्षालाई बढी जोड दिनुपर्छ भन्ने मान्यता राखेको छ,’ उनले भनिन् ।

संसदीय दलको बैठकमा संसद्‍मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा समेत गम्भीर छलफल भएको थियो ।

सरकारले संसद्मा प्रतिपक्षको आवाजलाई बेवास्ता गरेको र प्रधानमन्त्रीले जननिर्वाचित प्रतिनिधिले सोधेका प्रश्नहरूको जवाफ नदिएको भन्दै थापाले आपत्ति जनाइन् ।

‘सरकारसँग झन्डै दुई तिहाइको समर्थन छ, तर त्यसको सही प्रयोग हुन सकेको छैन । विगतमा निर्णयहरू सरकारकै भए पनि प्रतिपक्षका सुझाव र आवाजलाई समेट्ने अभ्यास थियो । तर अहिले प्रतिपक्षले खोजेको जवाफसमेत प्रधानमन्त्रीबाट पाइरहेको छैन । यो जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपन हो,’ उनले भनिन् ।

ranechhap