धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केहीबेरमा लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाह अस्पतालको उद्घाटनका लागि धनगढीबाट प्रस्थान गरिसकेका छन् ।
यस अघि लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीको अवरोधपछि अस्पताल उद्घाटन रोकिएको थियो । मेयर शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटनको तयारी गरिरहेका हुन् ।
मेयर शाही विदेशमा रहेकै बेला अस्पताल उद्घाटनको तयारी भएपछि लम्कीचुहा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पताल परिसरमा डोजर, एम्बुलेन्स र ट्याक्टर तेर्साएर कार्यक्रम प्रभावित पार्ने रणनीति बनाइएको बताइएको छ ।
सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो सुरक्षा व्यवस्थापन गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
मेयर शाहीले प्रदेश सरकारले जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अवरोध गर्दै आएकी छन् । तर यसअघि उनले नै १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति दिएकी थिइन् ।
संघीय सरकारले सोही अनुसार लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । तर अहिले सम्झौता नभई प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै मेयर शाहीले आपत्ति जनाउँदै आएकी छन् ।
निर्णय रोक्न मेयर शाही सर्वोच्च अदालत पुगेकी थिइन् । तर स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको हो ।

























