काठमाडौँ । नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०६५ सालपछि नियुक्त प्राध्यापक तथा कर्मचारीहरू ४५ दिनदेखि आन्दोलनरत भए पनि सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।
विश्वविद्यालयमा नवप्रवर्तन, खोज तथा अनुसन्धानमा सक्रिय हुनुपर्ने प्राध्यापकहरू आन्दोलनमा बस्दा विश्वविद्यालयको अध्ययन अध्यापन प्रभावित भएको उनले बताए। उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि जारी आन्दोलनप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै सम्माननीय अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराए।
बैठकमा बोल्दै उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा २०६५ सालपछि प्रवेश गरेका प्राध्यापक र कर्मचारीहरू ४५ दिनदेखि धर्नामा बसिराख्नुभएको छ । नर्वप्रवर्तन, खोज र अनुसन्धानमा सहभागी हुनुपर्ने बेलामा प्राध्यापकहरू धर्नामा बस्नुपरेको छ । त्यसमा सरकारले चासो राखेको छैन । सम्माननीय अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’







































