काठमाडौँ । विभिन्न राजनीतिक दल त्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न पार्टीले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले समायोजन प्रक्रियाबाट आएका व्यक्तिहरूको सदस्यतालाई व्यवस्थित गर्न डा. गोपाल दहितलाई बारा, आङ्गेलु शेर्पालाई सिराहा, अब्दुल सत्तारलाई धनुषा र राजीव ढुंगानालाई सप्तरीको जिम्मेवारी सुम्पेको छ। त्यसैगरी, सोलुखुम्बुमा कुसुम थापा, सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट र महोत्तरीमा प्रमोदहरि गुरागाईँलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाइएको छ।
कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह के.सी., रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौँमा ईश्वर अधिकारीलाई नवप्रवेशीहरूको सदस्यता समस्या सुल्झाउने विशेष जिम्मेवारी दिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।








































