काठमाडौं । जनआस्थाको कार्यालय गेटमा ५० हजार नगद र रक्सीको बोतल छोडिएको घटनालाई लिएर काठमाडौंस्थित चिनियाँ दूतासावसले पनि चासो दिएको छ । दूतावासका प्रवक्ताले यस घटनाका सम्वन्धमा गम्भीर अनुसन्धानको लागि आग्रह गरेका छन् ।
चिनियाँ नागरिकको नामबाट वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई फोन गरेर पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध समाचार लेख्न उक्साइएको फोन संवाद सार्वजनिक भएको थियो । त्यसलगत्तै श्रेष्ठले आफ्नो कार्यालयको गेटमा एक युवतीले ५० हजार पैसा र रक्सीको बोतल छोडेर गएको तस्बिर पोस्ट गरे । अहिले यो विषयले सामाजिक सञ्जालमा राम्रै बहस सिर्जना गरिरहेको छ ।
चिनियाँ दूतावासले भने ‘चीनलाई बदनाम गर्ने नियोजित षड्यन्त्र’ भन्दै यसबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकारसँग माग गरेको हो । दूतावासका प्रवक्ताले आफ्नो देशसँग जोडिएका हल्लाहरू पूर्णतः निराधार र कपोलकल्पित भएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘यस्ता हल्लाहरू सुनेर चिनियाँ पक्ष स्तब्ध भएको छ । हामी यी हल्लाहरूलाई पूर्ण रूपमा खारेज गर्छौँ र चीनलाई बदनाम गर्ने यस्ता नियतवश गरिएका कार्यहरूको कडा निन्दा गर्दछौँ ।’
प्रवक्ताले चीनले सधैँ अर्को देशको आन्तरिक मामिलामा ‘अहस्तक्षेप’ को नीति अवलम्बन गर्दै आएको कुरामा जोड दिएका छन् ।
‘चीनले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि सधैँ दृढतापूर्वक समर्थन गर्दै आएको छ,’ उनी भन्छन्, ‘हामीले नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविकाको सुधारमा निरन्तर सहयोग पुर्याउँदै आएका छौँ ।’
दूतावासले यस प्रकरणलाई गम्भीरताका साथ लिँदै सम्बन्धित नेपाली निकायहरूलाई यस हल्लाको गहिरो र विस्तृत छानबिन गर्न आग्रह गरेको छ । दूतावासले यस्ता अफवाह फैलाउनेहरू र यसको पछाडि रहेका व्यक्तिहरूलाई नेपाली कानुनबमोजिम कडा सजाय दिन समेत माग गरेको छ ।
प्रवक्ताले अगाडि भनेका छन्, ‘हामी दुई देशको साझा हितको रक्षाका लागि नेपाली पक्षसँग कानुन कार्यान्वयन र सुरक्षा सहयोगलाई थप सुदृढ बनाउन तयार छौँ ।’
दूतावासले ‘तर्क र विवेकले अफवाहको अन्त्य गर्ने’ विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपाली मित्रहरूलाई सत्य र असत्य छुट्याउन आग्रह गरेको छ । चिनियाँ पक्षले नेपाल र चीनबीचको परम्परागत मित्रता र सहयोगलाई प्रवर्द्धन गर्न सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।









































