काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार असफल हुँदा नागरिकहरूमा व्यवस्थाप्रति निराशा अझ बढी बढ्ने खतरा रहने भएकाले सकारात्मक ढङ्गले काम गरोस् भन्ने चाहना आफूहरूले राखेको बताएका छन्।
सदस्यता अद्यावधिक सम्बन्धी गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहको पछिल्लो व्यवहारप्रति प्रश्न उठाए।
उनले भने, ‘अहिलेको प्रधानमन्त्रीले आफू संसदीय व्यवस्थाभित्रबाटै प्रधानमन्त्री भनेको भन्ने कुरा ख्याल गर्नु भएन। उहाँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइन। उहाँ संसद्प्रति उत्तरदायी हुनुपर्छ, उहाँको जबाफदेहिता संसद्प्रति रहन्छ। उहाँको जिम्मेवारी, संविधान र हाम्रो अभ्यासले भनेको विषय हो। उहाँले सबै यी सबै कुरालाई त्यागेर जबरजस्त चल्ने कुरा सुहाउँदै होइन।’
संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने बताए। प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी नभई संसद्बाट चुनिएको हुनाले सम्पूर्ण जबाफदेहिता संसद्प्रति नै रहनुपर्ने उनको भनाइ छ।
संसद्मा पर्याप्त बहुमत हुँदाहुँदै पनि संसद्लाई छलेर अध्यादेश मार्फत कानुन बनाएकोप्रति असन्तुष्टि जनाए। संसद्मा विधेयकहरू लगेर छलफल गराउनुको साटो अध्यादेशको बाटो रोज्नु संसदीय लोकतन्त्र र संविधानको मर्म विपरीत भएको उनको भनाइ छ।
उनले बुथमा प्रतिनिधि राख्न क्षमता नभएको दलले सबैभन्दा धेरै सदस्य भएको दललाई भारी मतले हराएको स्मरण गरे। उनले पार्टीको सदस्यता अद्यावधिक गर्न काममा केन्द्रित हुन निर्देशन दिए।









































