काठमाडौँ । नयाँ प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्तिसँगै कायममुकायम खोसिएकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिन बिदा मागेकी छन् । उनले आज (६ गते) देखि नै लागू हुने गरी बिदाका लागि निवेदन छोडेकी हुन् ।
वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने आशा रहेकी प्रधान संवैधानिक परिषदले शर्मालाई सिफारिस गरेयता असन्तुष्ट छिन् । यद्यपि, उनले राजीनामा दिएर हिँड्ने मनस्थिति नबनाएको स्रोत बताउँछ । उनीसँगै वरिष्ठतामा शर्मा भन्दा अगाडि रहेका कुमार रेग्मी र हरि फुयाँलले पनि राजीनामा नदिने सम्भावना देखिएको छ ।
हिजो नयाँ प्रधानन्यायाधीशको शपथग्रहण समारोहमा कामु प्रधानन्यायाधीश रहेकी प्रधान उपस्थित भइनन् । संसदीय सुनवाइ समितिले शर्माको नाम अनुमोदन गरेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएको स्रोतले जानकारी दियो । राति सर्वोच्च अदालतमा भएको पदभार ग्रहणमा पनि प्रधान अनुपस्थित रहिन् । रेग्मी र फुँयालले भने नयाँ प्रधानन्यायाधीशलाई स्वागत गरेका थिए र पदभार ग्रहणमा सहभागी भएका थिए । उनीहरु दुवैको आज इजलास पनि तोकिएको छ ।
सपनाले दिएको विदाको निवेदन स्वीकृत भइसकेको छैन । अब प्रधानन्यायाधीश डा. शर्माले उनको निवेदनबारे निर्णय लिने छन् ।









































