काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन हुने भएको छ ।
महासंघले ६०औं साधारणसभा एवं निर्वाचनबाट नयाँ नेतृत्व (अध्यक्ष) भने पाइसकेको छ । तर संशोधित विधान अनुसार निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्ने छ ।
शुक्रबार बिहान ९ बजे बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि मनोनयन दर्ता र सोही दिन वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने तयारी छ । नयाँ विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान खारेज भएसँगै निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्ने छ ।
प्यानलै बनाएर दुई गुट देखिए पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनमा फरक–फरक गुट देखिएका छन् । अर्थात् निर्वाचनको समयमा एउटै प्यानलमा रहेका पदाधिकारीहरू अहिले फरक मतका साथ वरिष्ठ उपाध्यक्ष चयन प्रक्रियामा उभिएका छन् ।
वरिष्ठ उपाध्यक्ष चयन प्रक्रियामा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल,अध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले फरक–फरक उम्मेदवार अघि सारेका छन्, जस अनुसार अध्यक्ष श्रेष्ठले सुरकृष्ण वैद्य वा किशोरलाल प्रधान, निवर्तमान अध्यक्ष ढकालले भरत आचार्य वा हेमराज ढकाल र एसोसिएट उपाध्यक्ष पाण्डेले रामचन्द्र संघाईलाई अघि सारेको चर्चा छ ।
महासंघमा दुई पदाधिकारी चयनमा त्रिपक्षीय गुट देखिएको छ ।
संशोधित विधान अनुसार महासंघको पदाधिकारी चयन फरक बनेको छ । विधानअनुसार विगतमा पदाधिकारी भइसकेकाहरू पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न पाउँछन् । यस अघिको विधानमा विद्यमान कार्यसमितिका सदस्यहरूबाट मात्र पदाधिकारी चयन हुने प्रावधान थियो, तर संशोधित नयाँ विधानले यो दायरा फराकिलो बनाएको हो ।
संशोधित विधान अनुसार धेरैजसो पूर्वपदाधिकारी वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न लागेका छन् । तीन वर्षपछि हुने आगामी निर्वाचनमा भने अध्यक्ष सहितको प्रत्यक्ष चुनाव हुनेछ । यस अघि विधानमा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बन्ने प्रावधान थियो ।
वरिष्ठ उपाध्यक्षमा ५ जनाको भिडन्त, को कता ?
संशोधित विधान अनुसार एकपटक पदाधिकारी भइसकेका वा तीन कार्यकाल केन्द्रीय सदस्य भएकाहरूलाई पनि वरिष्ठ उपाध्यक्ष लड्न पाउने बाटो खुला छ । यो व्यवस्थाले वरिष्ठ उपाध्यक्ष बन्ने आकांक्षीको चाप बढाएको हो ।
वरिष्ठ उपाध्यक्षमा निवर्तमान उपाध्यक्षद्वय सुरकृष्ण वैद्य र हेमराज ढकाल, पूर्वउपाध्यक्षद्वय रामचन्द्र संघई र किशोरलाल प्रधान तथा निवर्तमान कोषाध्यक्ष भरतराज आचार्य गरी ५ जना मैदानमा छन् ।
चुनाव अघि एउटै प्यानलमा रहेका व्यवसायीहरू अहिले विभाजित देखिएका हुन् । अध्यक्ष श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा वैद्यलाई सघाउने मनस्थितिमा थिए, तर उनकै निकट मानिने किशोरलाल प्रधानले पनि दाबी नछाडेपछि अध्यक्ष श्रेष्ठ दोहोरो दबाबमा छन् । त्यस्तै एसोसिएटतर्फबाट उपाध्यक्ष जितेका पाण्डेले रामचन्द्र संघईलाई समर्थन गर्ने देखिएको छ । पाण्डे निर्वाचनको समयमा अध्यक्ष श्रेष्ठको प्यानलबाट निर्वाचित भएका हुन् । संघाई, प्रधान र वैद्य एउटै प्यानलमा थिए । तर वरिष्ठ उपाध्यक्षमा भने निर्वाचनको समय देखि टुग्याउन सकेका थिएनन् ।
यता, सबैभन्दा ठुलो सकस निवर्तमान अध्यक्ष ढकाल खेमामा देखिएको छ । साधारणसभा अगाडि नै प्यानल घोषणा गरेका हेमराज ढकालको टिमबाट कार्यकारिणी समितिमा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मात्र चुनाव जितेका छन् । त्यसैले पनि हेमराज कमजोर बनेका छन् । ढकालकै विश्वासपात्र मानिने भरत आचार्यले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । एउटै प्यानलमा दुई जनाले उम्मेदवार दाबी गरेपछि ढकाल प्यानलको मत बाँडिने स्थिति देखिएको छ ।
म कुनै हालतमा छोड्दिनँ – सुरकृष्ण वैद्य
वरिष्ठ उपाध्यक्षका दाबेदार सुरकृष्ण वैद्यले आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारेका छन् । रातोपाटीसँगको कुराकानीमा वैद्यले आफूलाई जिल्ला नगरतर्फका शतप्रतिशत सदस्यको साथ रहेको दाबी गरे ।
‘तीन वर्षसम्म धान रोप्ने, खेत गोड्ने, खनजोत गर्ने र मलजल गर्ने सबै काम मैले गरें । अहिले धान फलेर बाली भित्र्याउने बेलामा अरूले मलाई टिप्न दे भन्दैमा म कहाँ छोड्छु र ?, वैद्यले भने, ‘ म हार्ने भए पो छोड्नु, मेरो जित सुनिश्चित छ ।’ वैद्यका अनुसार महासंघमा ८२ मतमध्ये ४२ मत आफ्नो रहेको उनको दाबी छ ।
कोषाध्यक्षमा ३ आकांक्षी, ७ मनोनीतले पनि भोट हाल्न पाउने
कोषाध्यक्ष पदमा पनि ३ जनाको भिडन्त हुने देखिएको छ । कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेल, भक्त हमाल र पूर्वकेन्द्रीय सदस्य मनिषलाल प्रधान आकांक्षी छन् । अध्यक्ष श्रेष्ठले मनिषलाललाई र उपाध्यक्ष पाण्डेले अम्बिकाप्रसादलाई सघाउने चर्चा छ । मनिषलाल कोषाध्यक्ष लड्न विधानतः पहिला केन्द्रीय सदस्यमा मनोनीत हुनुपर्नेछ ।
संशोधित विधानअनुसार सातवटै प्रदेशका अध्यक्षले यसपटक मतदान गर्न पाउनेछन् । अध्यक्ष श्रेष्ठले शुक्रबार बैठकबाट विधानले दिएको अधिकार प्रयोग गरी ७ जना केन्द्रीय सदस्य मनोनीत गर्दैछन् ।
उनीहरूलाई सपथ खुवाएर सोही दिन निर्वाचनमा मतदान गर्ने अधिकार दिने तयारी भइरहेको छ, यसका लागि उपाध्यक्ष कृष्णप्रसाद शर्माको नेतृत्वको समितिले नियमावली संशोधनको सिफारिस गरिसकेको छ ।पदाधिकारी चयन सर्वसम्मत गराउने प्रयास भइरहे पनि आकांक्षीहरू धेरै भएकाले निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।









































