काठमाडौं । नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मालाई अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा आफू कसरी उत्कृष्ट हो भन्ने कुरालाई पुष्टि गर्नका लागि आग्रह गरेकी छिन् ।
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।
यसैबीच सांसदहरूले उनलाई विभिन्न प्रश्नहरू राखिरहेका छन् ।
सो क्रममा सांसद अर्यालले अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा चौथो वरीयतामा रहेर पनि उत्कृष्ट हुनुको कारण पुष्टि गर्नका लागि आग्रह गरेकी हुन् ।
‘चौथो नम्बरको न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस हुने कुराले भविष्यमा स्थापित विधि र परम्परालाई उल्लंघन गर्दै गलत उदाहरण प्रस्तुत गर्दैन ?,’ अर्यालको प्रश्न छ ।
साथै, उनले थप प्रश्न गरिन्, ‘निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन सक्नुहुन्छ ?’
उनले न्याय महँगो हुने विषय उजागर गर्दै ६ वर्ष लामो कार्यकालमा कसरी काम गर्छु भन्ने छ ? भन्दै प्रश्न गरिन् ।
‘न्याय महँगो छ भन्ने छ । ३ वर्ष काम गर्नुभो । ६ वर्षको लामो कार्यकाल पाएपछि यसरी काम गर्छु भन्ने के छ ?,’ उनले प्रश्न गरिन् ।








































