वि.सं.२०८१ माघ २८ सोमवार

रक विधाको ‘टोपी’ गीतमा राष्ट्रप्रेम

नेपाली संगीतमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मले राष्ट्रियतालाई गीतको विषय बनाउँदै आएका छन्।

हालैको नक्सा प्रकरण र भारतले अतिक्रमण गरेको भूमिको विषयमा नेपालीले प्रदर्शन गरेको ऐक्यबद्धताले राष्ट्रियताको विषयले राजनीतिक तर‌ंग ल्याएको थियो।

यस्तै समयमा गायक सत्यजीत प्रधानले राष्ट्रियताको भावना बोकेको ‘टोपी’ शीर्षकको गीत, आफ्नो ब्यान्ड ‘प्रोडक्ट अफ कन्सेप्सन (पिओसी)’ मार्फत सार्वजनिक गरेका छन्। यस गीतलाई युटुब मार्फत रिलिज गरिएको हो।

रक भर्सनको यो गीतले ‘टोपी’ को माध्यमबाट देशको राष्ट्रियतालाई सधैं माथि राख्न र सबै मिलेर देश बनाउने संदेश दिएको छ। राष्ट्रियताको विषयमा सरकारलाई सचेत गराउँदै युवाहरुले सडकदेखि मिडिया र सामाजिक संजालमा सचेत गराइरहेका बेला यो गीत सान्दर्भिक देखिएको छ।

गायक सत्यजीत अहिलेको सन्दर्भमा युवा पुस्ता, खास गरी संगीतको रक जनरा मनपराउने युवालाई देश निर्माणमा प्रेरित गर्न सक्ने ठानेर यो गीत प्रस्तुत गरेको बताउँछन्। गीतमा टोपीलाई एकताको प्रतीकका रुपमा प्रस्तुत गर्दै उनीहरुलाई देश निर्माणका लागि गरिएको आह्वानसमेत भएको उनको भनाइ छ।

एकताको प्रतीक रहेको टोपी शीर्षकमा यस गीतको माध्यमबाट देश बनाउन सबै एक हुनुपर्ने र मिलेर देश विकासको काम गर्नुपर्ने संदेश दिन खोजिएको छ।

गीतलाई चर्चित गितारिष्ट हरि महर्जनले एरेन्ज अनि गितारवादन गरेका छन् भने सत्यजीत प्रधानको स्वर रहेको छ। यसबाहेक गीतमा सुरज विष्टले बेस गितार, रिग्जिन लामाले रिदम गितार र ड्रममा अभयकृष्ण श्रेष्ठले साथ दिएका छन्।

Untitled