वि.सं.२०८१ फागुन ३ शनिवार

यापर सुदिन पोखरेलले ‘मनमा लाग्या कुरा गीतमार्फत् राख्या छु’ भन्दै ल्याए नयाँ गीत

र्‍यापर सुदिन पोखरेलको नयाँ गीत ‘समृद्धि’ सार्वजनिक भएको छ। विश्व संगीत दिवसका अवसर पारेर आइतबार उनले उक्त गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

गीतमा सुदिन र अनन्त कोइरालाको शब्द छ। स्वर र संगीत भने सुदिनको एकल छ। गीतमा उनी आफैं फिचर भएका छन्। निर्देशनमा सिद्धार्थ लामिछाने र दिपेश श्रेष्ठको सहयोग छ।

गीत ‘यो गीत हाम्रो हो’ भन्दै सुरू हुन्छ। गीतमा देशको स्थिति बुझाउने शब्द प्रयोग गरिएका छन्। प्रजातान्त्रिक सरकार नामको लागि मात्र भएको र सर्व-साधारणको समस्या वेवास्ता गर्ने सरकारमाथि गीतमा प्रश्न राखिएको छ।

जनताहरू समृद्धिका भोका भएको तर राज्यले खोक्रो आश्वासन दिलाएकोमा गीतले व्यङ्ग्य गरेको छ। ‘मनमा लाग्या कुरा गीत मार्फत् राख्या छु,’ सुदिनको गीतमा भनिएको छ।

सुरूमा सुगम पोखरेलसँग मिलेर संगीत क्षेत्रमा यात्रा थालेका सुदिन गिरीश-प्रनिल र द युनिटीसँग जोडिएर र्‍याप गाएपछि थप चर्चामा आएका थिए। ‘मलाई भोट देऊ’, ‘सि इज द बम’, ‘म यस्तो छु, म उस्तो छु’, ‘आँखाभरि नाच्छौ’ आदि उनका चर्चित गीत हुन्।

संगीत र पत्रकारितामा सक्रिय सुदिनले अष्ट्रेलिया गएको झन्डै साढे सात वर्षपछि गत पुसमा नयाँ गीत ‘जोश’ सँगै पुनरागमन गरेका थिए। जोस सार्वजनिक भएको पाँच महिनापछि उनले नयाँ गीत ‘समृद्धि’ सार्वजनिक गरेका हुन्।

Untitled