नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले गर्ने सकारात्मक काममा बिनापूर्वाग्रह साथ रहने बताएका छन्।
प्रधानमन्त्री र मन्त्रीहरूलाई शुभकामना दिँदै शर्माले सरकारको कामको सफलता शुभकामनामा मात्रै भन्दा पनि प्रश्न, दबाब, जबाफदेहीता, रूपान्तरण, नीति थिति र गतिमा निर्भर रहने बताए।
‘विगतमा कांग्रेसमा रहेका केही सत्तारूढ सांसदहरूसँग केही दिन अघि मेरो व्यक्तिगत भेट भएको थियो- मैले सोधेँ, नयाँ सरकारलाई सोध्नैपर्ने गम्भीर प्रश्न उठेका छन्, संसदमा के के प्रश्न उठाउनुहुन्छ? अलि मलिन स्वरमा मार्मिक जबाफ पाएँ। यसरी खुलेआम प्रश्न सोध्न सक्ने साहस कांग्रेस हुँदासम्म मात्रै हो। संसद डेढ, दुई महिना चलेर सकिएपछि तिनले जनताको कस्तो प्रश्नको सामना गर्नुपर्ला!’ शर्माले आज सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उल्लेख गरेका छन्।
उनले रास्वपा सांसदहरूप्रति लक्ष्य गर्दै सरकारका कामकारबाहीप्रति मौन रहेको उल्लेख गरे।
‘संवैधानिक परिषदलाई भताभुङ्ग बनाइयो। संसदको मौनधारण। अदालतलाई रबर स्ट्याम्पमा बदल्ने प्रयासमा नयाँ अवतार प्रकट भयो, मौनधारण। भ्रष्टाचार लागे पनि सांसदको लोगो लगाएर संसद जान पाइने नयाँ नियमावली आयो, मौनधारण। बाटोमा भेटिँदा कुनै युवाले सोध्न सक्छन्- मेरो १२ कक्षाको परीक्षा चलिरहेको थियो, विकल्प नदिई टहरा भत्काइयो, यो प्रश्न संसदमा उठाउनु भयो माननीयज्यू? मौनधारण,’ शर्माको भनाइ छ, ‘कुनै आमाले सोध्नुहुनेछ- घर भत्काउँदा मेरो छोराले नदीमा हामफालेर प्राण त्याग गर्यो, तपाईंले संसदमा आवाज उठाउनु भयो? त्यसबेला पनि मौनधारण? बुद्ध पूर्णिमाका दिन गुम्बामा डोजर चलाइयो, घन्टी बजाउँदै सरकारमा पुगेकाले मन्दिरमा पनि डोजर चलाए किन? सरोकारवालासँग समन्वय गरेर काम गर्ने परिवक्वता किन राख्नु भएन? कसैले यो सोधे के गर्ने, मौनधारण?’
सुकुम्बासी समस्या समाधान गर्नुपर्ने र यो काममा सरकारलाई सबैले सहयोग गर्नुपर्ने उपसभापति शर्माले बताए। तर सुकुम्बासी बस्ती हटाउँदा कानुनका कुरा गर्दा मानवीय कोण पनि हेर्नुपर्ने उनले बताए।
सांसदहरूलाई यस्ता प्रश्न जनताले उठाउन सक्ने पनि शर्माको भनाइ छ।
‘प्रधानमन्त्रीले कुनै बेला स्वर दिएको गीत- गरिबको चमेली बोलदिने कोही छैन। आदरणीय सांसदहरू मेरो देशमा लोकतन्त्र छ, भोट हाल्न पाइन्छ, जुलुस निकाल्न पाइन्छ, यो नै लोकतन्त्रको प्रथम र अन्तिम परिभाषा होइन,’ उनले भने, ‘गरिबको चमेली बोलदिने कोही छ भनेर दृढ ढंगले आवाज उठ्नु र त्यो आवाजलाई सरकारले अनुभूति गर्नु र जबाफदेही बन्नु। एउटा निमुखाले माइतीघर मण्डलमा उभिएर मलाई न्याय चाहियो भन्दै गर्दा सरकारले सुन्नु पनि वास्तविक लोकतन्त्र हो।’








































