वि.सं.२०८३ वैशाख २० आइतवार

काठमाडौँमा कोसी र गण्डक आयोजना संयुक्त समितिको बैठक : जलस्रोत व्यवस्थापन र बाढी नियन्त्रणबारे छलफल

khanepani

काठमाडौँ । नेपाल र भारतबीच लामो समयदेखि थाँती रहेका कोसी तथा गण्डक आयोजनाका प्राविधिक एवं प्रशासनिक मुद्दाहरू सुल्झाउन काठमाडौँमा दुई देशका अधिकारीहरूबिच छलफल भएको छ।

अप्रिल ३० देखि मे १ सम्म आयोजना गरिएको कोसी तथा गण्डक आयोजनाको संयुक्त समिति (जेसीकेजीपी) को ११औँ बैठकले जलस्रोतको क्षेत्रमा सहकार्य गर्ने र भविष्यका लागि स्पष्ट मार्गचित्र तयार गर्ने निर्णय गरेको हो।

यो बैठकले दुवै देशका सीमावर्ती क्षेत्रमा हुने डुबान र सिँचाइका समस्यालाई केन्द्रमा राखेर विस्तृत समीक्षा गरेको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सिँचाइ विभागका महानिदेशक मित्र बरालले गरेका थिए भने भारतीय टोलीको नेतृत्व बिहार सरकारको जलस्रोत विभागका प्रधान सचिव सन्तोष कुमार मल्लले गरेका थिए।

दुई दिनसम्म चलेको वार्तामा कोसी र गण्डक आयोजनासँग सम्बन्धित जलस्रोत व्यवस्थापन, बाढी नियन्त्रण र सिँचाइका पूर्वाधारको मर्मतसम्भार जस्ता विषयमा गहन विमर्श भएको छ। नेपाल र भारतका अधिकारीहरूबिच सहकार्यलाई थप प्रभावकारी बनाउँदै दुवै देशका नागरिकले भोग्नुपरेका समस्या न्यूनीकरण गर्न साझा संयन्त्रमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ।

विशेषगरी बर्खाको समयमा हुने बाढी र कटान रोक्नका लागि अपनाउनुपर्ने अल्पकालीन तथा दीर्घकालीन उपायका बारेमा बैठकले नयाँ कार्ययोजना तय गरेको छ। बिहार सरकारको जलस्रोत विभागले यो बैठकलाई ऐतिहासिक रूपमा सफल र परिणाममुखी भएको बताएको छ।

यो बैठकले कोसी र गण्डक जस्ता ठुला सिँचाइ तथा तटबन्ध आयोजनाको सुदृढीकरणका लागि मार्गप्रशस्त गर्नुका साथै दुई देशबिचको जल कूटनीतिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

ranechhap