वि.सं.२०८३ वैशाख १५ मंगलवार

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे तयारी तीव्र, परराष्ट्रमन्त्री खनालको भ्रमणपछि मिति टुङ्गो लाग्ने

khanepani

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र हुँदै गएको छ । नेपाल र भारतले आ–आफ्नोतर्फबाट भ्रमणको तयारी अघि बढाएका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउँदैछन् । उनी प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका हुन् । दुई दिनसम्म नेपालमा रहने उनले प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्तरण गर्ने बताइएको छ ।

यद्यपि यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइँ दिँदै भारत भ्रमणका आमन्त्रण गरिसकेका थिए । मोदीको सो आग्रहलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन् । मन्त्री खनाल मोरिसस गएको बेला भारतका विदेशमन्त्री एस.जयशंकरसँगको भेटपछि खनालले प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने बताएका थिए ।

त्यसपछि भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि प्रधानमन्त्री बालेन भारत भ्रमणमा आउने बताएका थिए । औपचारिक प्रक्रियाका लागि भारतीय विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी प्रधानमन्त्री बालेनलाई औपचारिक निम्तो दिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेनलाई भेटेरै निम्तो दिन्छन् या परराष्ट्र मन्त्रालयमार्फत दिनेछन् भन्ने अझै टुङ्गो लागेको छैन । मिस्रीले नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायत अन्य केही मन्त्रीलाई भेट्ने कार्यक्रम छ । उनको दुई दिनको भ्रमण कार्यतालिकाबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी गरिरहेको जनाइएको छ ।

मिस्रीकै भ्रमणको क्रममा दुई देशबिच भएका सम्झौता कार्यान्वयनमा के–कस्तो प्रगति भएको छ भन्नेबारेमा पनि समीक्षा हुने बताइएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले अन्तरमन्त्रालय छलफल जारी राखेको छ । परराष्ट्र मन्त्रालयमा दक्षिण एसिया हेर्ने महाशाखाले यसबारे तयारी गरिरहेको छ ।

मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने बताइएको छ । उनको भ्रमणको मिति भारतीय विदेश सचिव मिस्रीको भ्रमणपछि टुङ्गो लाग्ने स्रोतले बतायो ।

परराष्ट्रमन्त्री खनाल भारत भ्रमणबाट फर्केपछि मात्र बालेनको भ्रमणको मिति तय हुने अधिकारीहरू बताउँछन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए ।

भ्रमणबारे चासो

प्रधानमन्त्री बालेन भारत भ्रमण जाने चर्चा सुरु भएसँगै सीमा विवादबारे चासो बढेको छ । भारतको संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखेपछि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

नेपालको नयाँ नक्सालाई मान्यता नदिएको भन्दै उनले आफ्नो निर्धारित चीन भ्रमण पनि स्थगित गरेका थिए । प्रधामन्त्रीको रूपमा केपी शर्मा ओली भारत भ्रमणमा जान लाग्दा उनले ओलीलाई नेपालको नयाँ नक्साबारे कुरा गर्न सामाजिक सञ्जालमार्फत सल्लाह दिएका थिए ।

बालेन आफैँ प्रधानमन्त्रीको रूपमा भारत जाने तयारी भएसँगै उनले ती विषयलाई कसरी उठान गर्छन् भन्नेबारे चासो बढेको छ ।

लिपुलेकको लफडा

नेपालको भूमि लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले पुनः सीमा व्यापार सुरु गर्ने सहमति गरिसकेका छन् । सम्भवतः यो व्यापार आगामी जुनदेखि सुरु हुने बताइएको छ ।

नेपालले भारत र चीनबिच भएको सहमतिबारे कूटनीतिक रूपमा प्रेस नोटमार्फत खण्डन गरेको थियो । भारत र चीनले लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्न लागेका हुन्, जुन भूभाग नेपालको हो । उक्त भूभागलाई नेपालले आफ्नो नक्सामा समावेश गरिसकेको छ । भारत र चीनले यस अघि पनि सो भूभागलाई दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेको थियो । त्यसमा नेपालले विरोध जनाएको थियो ।

नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो । त्यति बेला पनि भारतको खुब विरोध भएको थियो ।

त्यसपछि नेपालले आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो र संसदको पूर्ण बहुमतबाट त्यसलाई पारित गरिएको थियो । ०७७ जेठमा नेपाल सरकारले त्यो नक्सा जारी गरेको थियो । त्यतिबेला भारतले त्यो नक्सा त स्वीकार त गरेन नै, चीनले पनि त्यसको बारेमा आफ्नो कुनै प्रतिक्रिया दिएन ।

बरु उल्टै चीनले २०८० भदौ (अगस्त २८) मा जारी गरेको ‘२०२३ को स्ट्याण्डर्ड म्याप’मा नेपालको पुरानै नक्सा राख्यो । नेपालले त्यसमा कुनै प्रतिक्रिया जनाएको थिएन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको दोस्रो हप्ता भएको चीन भ्रमणमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भएको दुई पक्षीय कुराकानीमा यसबारे कुरा उठाएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

ओली फर्केको एक सातामै नेपालमा जेनजी आन्दोलन भएको थियो, र ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । फागुन २१ गते चुनाव सम्पन्न भएपछि बालेनको नेतृत्वमा सरकार बनेको छ । बालेन सरकारले भारतसँगको सीमा विवादलाई कसरी समाधान गर्छ भन्नेबारे धेरैको चासो छ ।

ranechhap