रूपन्देही । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि बाँकेको भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । मृतकका आफन्तले चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पतालका चिकित्सकले कामकाज बन्द गरेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि सोमबार बिहानदेखि नै अस्पताल परिसरमा विरोध प्रदर्शन सुरु भएको थियो । आफन्तहरूले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आरोप लगाउँदै क्षतिपूर्ति र सम्बन्धित चिकित्सकमाथि कारबाहीको माग गरेका छन् ।
मुटुसम्बन्धी समस्या रहेकी विक सामान्य अवस्थामा मोटरसाइकलमार्फत उपचारका लागि अस्पताल पुगेकी थिइन् । उनलाई मुटुरोग विशेषज्ञ डा.विकास नेपालको निगरानीमा उपचार सुरु गरिएको थियो ।
तर उपचारकै क्रममा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरूले गम्भीर आरोप लगाएका छन् । उनीहरूले उपचारका बीचमा वरिष्ठ चिकित्सकले जिम्मेवारी कनिष्ठ कर्मचारीलाई सुम्पेर बाहिर गएको दाबी गरेका छन् ।
घटनापछि पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भई प्रहरीमा उजुरी दर्ता गर्ने तथा छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने सहमति भएको थियो । सोही क्रममा शव बुझ्ने प्रक्रियामा रहेका केही आफन्तले अस्पताल प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अस्पताल प्रमुखसहित केही चिकित्सकलाई सुरक्षा दिँदै जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो ।
अस्पतालका स्वास्थ्यकर्मीहरूले काम गर्ने वातावरण असुरक्षित बनेको र मनोबल खस्किएको भन्दै ओपिडी सेवा बन्द गरेका छन् । सेवा बन्द भएपछि बिरामीहरू मारमा परेका छन् ।
सोमबार दिनभरि नै अस्पताल क्षेत्रमा तनाव कायम रह्यो । समस्या समाधानका लागि भएको संवादमा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार माथि समेत चिकित्सकको पक्ष लिएको आरोप लगाउँदै आफन्तहरूले अभद्र व्यवहार गरेको त्यहाँस्थित पत्रकार शरण कर्माचार्यले जनाएका छन् ।








































