वि.सं.२०८३ वैशाख १३ आइतवार

अतिक्रमित बस्ती हटाउने क्रम जारी : काठमाडौँका तीन बस्तीका ७ सय ८१ घर भत्किए

khanepani

काठमाडौँ । काठमाडौँ उपत्यकाका अतिक्रमित बस्ती हटाउने क्रम जारी छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगरका सात सय ८१ घर भत्काएको जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती थापाथलीमा एक सय ४३, वडा नं ९ को गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा एक सय ६२ र वडा नं ३१ को शान्तिनगरमा चार सय ७६ गरी सात सय ८१ घर भत्किएका हुन् ।

सरकारको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले शनिबार दिनभरि प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न सहयोग गरेको थिए । त्यसपछि मात्र डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको थियो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार अब ९० वटा घर भत्काउन बाँकी छ । प्राधिकरणले अब गोठाटारका ७७, मनोहरा टोलमा १३ घर भत्काउन बाँकी रहेको जनाएको छ ।

सरकारले सार्वजनिक जग्गा संरक्षण तथा नदी किनार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सहरी सौन्दर्यीकरण, वातावरण संरक्षण तथा दीर्घकालीन सहरी व्यवस्थापनसँग जोडेर अभियान अघि बढाएको हो ।

बस्ती हटाउने कामसँगै प्रभावित परिवारको पुनःस्थापना तथा व्यवस्थापनका विषयमा विभिन्न कोणबाट चासो व्यक्त हुन थालेको छ । सरोकार भएका निकायले दीर्घकालीन समाधानका लागि व्यवस्थित बसोबासको विकल्प उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइरहेका छन् ।

ranechhap