काठमाडौँ । सडक डिभिजन कार्यालय, हेटौँडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी सहितको अल्टिमेटम दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै २०८३ वैशाख १० गतेभित्र सडक सीमा खाली गर्न निर्देशन दिएको छ ।
सडक डिभिजनका अनुसार, महेन्द्र राजमार्गको पथलैया–चुरियामाई अन्तर्गत पर्ने ३ नं. पुल र चुरियामाई मन्दिर (बारा) को क्षेत्रमा सडक विभागको स्वीकृति बिना नै अनधिकृत तवरले संरचनाहरू निर्माण गरिएका छन् । कानुनतः सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुवैतर्फ २५/२५ मिटरको क्षेत्रलाई सडक सीमा मानिन्छ । सोही सीमा भित्र बनाइएका सम्पूर्ण संरचनाहरू हटाउन कार्यालयले भनेको छ ।
यसअघि पनि सडक सीमा खाली गर्न कार्यालयले पटक–पटक ताकेता गर्दै आएको जनाएको छ । सूचनामा उल्लेख भए अनुसार, यसअघि २०७३ पुस १८ गते र २०८० असार ९ गते लगायतका विभिन्न मितिमा डिभिजनले सार्वजनिक सूचना जारी गरेको थियो । तर, स्थानीयले उक्त निर्देशनलाई बेवास्ता गर्दै हालसम्म पनि घर/टहरा नहटाएको पाइएपछि सडक डिभिजन बाध्य भएर पुनः सूचना जारी गरेको हो ।
सडक डिभिजन हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा दिइएको म्याद (२०८३ वैशाख १० गते) भित्र संरचना नहटाएमा कानुनी कारबाही गरिने प्रष्ट पारिएको छ । ‘अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम कारबाही भई जाने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।









































