वि.सं.२०८३ वैशाख ६ आइतवार

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्, ‘महाधिवेशनका चर्का कुरा गर्नेकै जिल्लामा अधिवेशन बाँकी’

khanepani

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङदेनले महाधिवेशन टार्न खोजेको भनेर चलाइएको हल्ला निराधार भएको बताएका छन् । उनले महाधिवेशनका लागि जिल्ला अधिवेशनहरु हुनु पर्ने र पटकपटक म्याद थप्दासमेत जिल्ला अधिवेशन नसकिँदा महाधिवेशन सरेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले भनेका छन्, ‘राप्रपाबारे एउटा भ्रम फैलाइएको छ, गलत भाष्य बनाइएको छ–अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन टारिरहनु भएको छ, महाधिवेशन गर्ने पक्षमा हुनुहुन्न । यो सरासर गलत कुरा हो ।’

श्रेष्ठले अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्न क्रियाशील रहेको र न्युनतम शर्त जिल्लाको अधिवेशन हुनु पर्ने भएकाले अध्यक्षको गृहजिल्ला झापाको जिल्ला अधिवेशन समेत धेरै अघि भइसकेको बताए । उनले भने, ‘पार्टीले स्थानीय तह हॅुदै जिल्ला अधिवेशन सम्पन्न गर्न दुईपटक म्याद थप गरिसकेको छ। दुई दर्जन बढी जिल्लाहरुको अधिवेशन भइसेको छ। बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरुको जिल्लामा अधिवेशन भएको छैन ।’

उनले पार्टीबारे अनर्गल दुष्प्रचार गर्नेहरुले भोलि पनि यही पार्टीमा बस्नुपर्ने, यही पार्टी नै बनाउनु पर्ने भन्ने बिर्सेर प्रदुषण फैलाइरहॅदा नमज्जा लागिरहेको बताएका छन् । उनले भने, ‘उम्मेदवार नबन्ने, पार्टीका उमेदवारलाई सहयोग नगर्ने, पार्टी राष्ट्रिय पार्टी बन्छ कि भनेर चिन्ता गर्ने, राप्रपालाई भोट दिनु पर्दैन भन्ने, स्वयम् पनि भोट समेत हाल्न नजानेहरुले खुला रुपमा पार्टीमा नैतिकताको खोजी गरिरहेको देख्दा उदेक लाग्छ ।’

उनले राप्रपामा कुनै पनि निर्णय अध्यक्षको एकल निर्णयबाट नलिइएको दोहोर्याएका छन् । उनले भनेका छन्, ‘अध्यक्षको बितेको चारवर्षे कार्यकालमा कुनै पनि विषयमा फरक मत आउॅछन्, आएका छन् तर ‘नोट अफ डिसेन्ट’ लेखिएको छैन । विशेष परिस्थितिमा तत्काल कुनै निर्णय लिन परिहालेको खण्डमा अनुमोदनका लागि कार्यसम्पादन समितिको बैठकमा आउने गरेको छ। छलफलबाट टुंगो लगाउने गरिएको छ । यस बीचमा कुनै निर्णय भएका रहेछन् भने त्यो समेत कार्यसम्पादनमा आइहाल्छ । व्यर्थको जग हॅसाउने काम गरिरहनुको अर्थ छैन ।’

श्रेष्ठले जेठमा महाधिवेशन भएन भने राप्रपा समाप्त हुने खालका अभिव्यक्ति जिम्मेवार व्यक्तिहरुबाट सार्वजनिक हुनु दुःखद भएको बताए । उनले भने, ‘सबै कुरा गैरजिम्मेवार ढंगबाट लेख्न मिलेन तर यति चॅाहि भन्छु, सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हॅुदैन ।’

ranechhap