काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ ।
प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।
कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी गरेको छ। सहमतिको लागि भोलि पनि फेरि बैठक बस्ने उनले बताए।
उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ। आज दलको नेता टुङ्गिएन। हामी भोलि पनि दाबेदारहरूसँग छलफल गर्छौँ।’
उनले दलको नेतामा दाबी गर्नेहरूसँग पार्टी नेतृत्वसहित बसेर भोलि छलफल गर्ने बताए।








































