वि.सं.२०८३ वैशाख ३ बिहीवार

राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहको विषय : पूर्वराजा

khanepani

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहको विषय भएको बताएका छन् ।

देश र समाजलाई प्रगति पथमा अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गर्दै उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने विश्वास व्यक्त गरेका हुन् ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सोमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख र शान्तिको शुभकामना दिँदै पूर्वराजा शाहले विगतका कमजोरी र त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड समेत दिएका छन् ।

उनले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता प्रकट गर्दै राजनीतिक र प्रशासनिक प्रणालीमा गरिएका फेरबदलहरू केबल सतही मात्र सावित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको खिचातानीले गर्दा राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश एउटा प्रयोगशाला जस्तो मात्र बनेको उनको भनाइ छ।

पूर्वराजाले आफ्नो सन्देशमा देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न र छिमेकी राष्ट्रहरूका साथै बाह्य मित्र शक्तिहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरेका छन् ।

आन्तरिक सुरक्षा व्यवस्था कमजोर हुँदा नागरिकहरूले असुरक्षा र अभावको सामना गर्नु परिरहेको तर्फ संकेत गर्दै उनले सुरक्षा अङ्ग र सेवा सुविधाहरूलाई चुस्त र दुरुस्त बनाउन राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यसैगरी, शाहले परनिर्भरता र पराधीनताबाट देशलाई जोगाउन हरेक क्षेत्रमा आत्मनिर्भर र स्वाधीन बन्नुपर्नेमा जोड दिएका छन् । देशको स्रोत र शक्तिलाई सही सदुपयोग गर्दै स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन गरेमा मात्र राष्ट्रको गौरव बढ्ने उनको तर्क छ।

निषेध, फुट, द्वन्द्व र विद्रोहले मुलुकलाई कमजोर बनाउने बताउँदै उनले आपसी रिसराग र प्रतिशोध त्यागेर जनचाहना अनुसार संवाद, सहमति र सहकार्यको माध्यमबाट संवैधानिक समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।

नेपाललाई शान्ति र प्रगतिको मुलुकका रूपमा देख्न चाहेको बताउँदै पूर्वराजा शाहले सबै नेपालीले न्याय, शान्ति र सुख पाउने अभिलाषा व्यक्त गरेका छन् ।

ranechhap