वि.सं.२०८३ वैशाख ३ बिहीवार

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सोमबार,सबै रिपोर्ट सन्तोषजनक

khanepani

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सोमबार हुने भएको छ ।

बिग्रँदो स्वास्थ्यस्थितिका कारण उनको अपरेशन अनिश्चित बनेको हल्ला चले पनि चिकित्सकहरुले शनिबार बेलुकीसम्मको रिपोर्ट अनुसार सोमबार अपरेशन गर्नमा कुनै समस्या नरहेको बताएका हुन् ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.सुवास आचार्यका अनुसार अपरेशन गर्नुपूर्व गरिनुपर्ने सबै परीक्षण भइसकेको छ । शनिबार ती सबै परीक्षणको रिपोर्ट सकारात्मक भएका कारण उनको उपचारमा संलग्न चिकित्सकहरुले सोमबार नै अपरेशन गर्न सकिने बताएको आचार्यले भने।

जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए । त्यहाँ एनेक्स १ को शय्या नम्बर ५०१ मा चिकित्सकको निगरानीमा भर्ना गरिएका ओली अहिले पनि सोही वार्डमा छन् ।

सर्वोच्च अदालतको आदेशबमोजिम प्रहरीले ओली र उनीसँगै पक्राउ परेका कांग्रेस नेता रमेश लेखकलाई २६ गते जिम्मा जमानीमा रिहा गरेको थियो । लेखक घर फर्किसकेका छन् । ओलीको पत्थरीको उपचार नगरी घर फर्किनका लागि चिकित्सकले अनुमति दिएका थिएनन् ।

तीनपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको पित्त थैलीमा पत्थरी देखिएको थियो । पित्त थैलीमा कोलेस्ट्रोल र बिलिरुबिन जम्मा भएर बन्ने ठोस पदार्थलाई गलब्लाडर स्टोन, अर्थात् पत्थरी भनिन्छ ।

१४ गते पक्राउलगत्तै गरिएको स्वास्थ्य परीक्षणका क्रममा ओलीमा पाँच प्रकारका समस्या देखिएका थिए । त्रिवि शिक्षण अस्पतालले जारी गरेको उनको स्वास्थ्यसम्बन्धी सूचनाअनुसार हाइड्रोनेफ्रोसिस, मधुमेह, मेलिटस, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी (उपचारमा) र कोलेलिथियासिस जस्ता समस्या थिए ।

तिनै समस्याका कारण पत्थरीको अपरेशन गर्न मिलेको थिएन । अस्पतालका निर्देशक डा.आचार्यका अनुसार सोमबार विहानसम्म स्वास्थ्य स्थितिमा कुनै समस्या नआए अपरेशन हुने निश्चित छ ।

ranechhap